रुकुम(पूर्व) मा यहि वैशाख २५ गतेबाट मादक पदार्थ सेवन र विक्रि वितरणमा रोक लगाइने भएको छ । वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर जिल्लाभरी नै २५ गतेबाट निर्वाचन भई त्यसको परिणाम घोषणा भइ नसक्दासम्मको लागि पूर्ण रुपमा मादक पदार्थ सेवन एवम् विक्रि वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले गरेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण र भएरहित वातावरणमा सम्पन्न गर्नको लागि जिल्लाको सबै ठाउँमा मदिरा सेवान तथा विक्रि वितरणमा रोक लगाउने निर्णय गरिएको हो । बैठकले मतदानका दिन सबै मतदान स्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्ने, साथमा लिन नपाउने व्यवस्थालाई अनिवार्य रुपमा पालना गर्ने, अत्यावश्यक वस्तु एवम् सेवाको आपूर्ती व्यवस्था सहज बनाइराख्ने निर्णय गरेको छ ।
यसैगरी स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तर रुपमा उपलब्ध हुने व्यवस्था मिलाउनेसँगै कोभिड १९ संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरि निर्वाचन गतिविधी सञ्चालन गर्ने निर्णय गरिएको छ । यस्तै वैशाख ३० गते मतदानका दिन अनुमती प्राप्त गरेका सवारी साधन बाहेक आम सवारी साधन विहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्ने निर्णय पनि सर्वपक्षिय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा जिल्लास्थित सुरक्षा निकाय एवम्विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, यातायात, होटेल व्यवसायी संघ, उद्योग बाणीज्य संघ, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनीधि, पत्रकारको उपस्थिती रहेको थियो ।