रुकुम(पूर्व) मा भूम्या पर्वको अवससरमा आयोजित सांस्कृृतीक महोत्सव सुरु भएको छ । जेठको मसान्तबाट सुरु भई असारको पहिलो साताभरी धुमधामका साथ मनाइने यस भूम्या अर्थात भूमे पर्वको अवसरमा आयोजना गरिएको महोत्सव बिहिबारबाट खाबाङमा सुरु भएको छ । “हाम्रो भूमे हाम्रो पहिचान, स्थानीय भाषा कला संस्कृतीलाई जगेर्ना गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ सञ्चालन गरिएको महोत्सवको बिहिबार प्रतिनिधिसभा सदस्य कमला रोकाले महोत्सवको उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्याक्रममा विभिन्न झाकीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सव उउद्धघाटन कार्यक्रमलाई संवोधन गर्दै प्रतिनिधि सभा सदस्य कमला रोकाले कला संस्कृति, भाषा, भेषभुषालाई संरक्षण गर्नुपर्ने बताउनुभयो । कला संस्कृतिको धनी जिल्ल्ला रुकुम(पूर्व) को आफ्नो छुट्टै पहिचान भएको उहाँको भनाई छ । यसलाई कलात्मक हिसवले राष्ट्रियस्तरमा चिनाउन स्थानिय सरकारले जोड दिनुपर्ने बताउनुभयो । साथै पर्वको अवसरमा आयोजना गरिएको सांस्कृतिक महोत्सव सफलताको शुभकामना दिनुभएको छ ।

पुर्व युवा तथा खेलकुद मन्त्री दलजित शेर्पालिले बहुजातीय, बहुभाषिक, कला संस्कृतिले भरिपुर्न नेपालको यौटा अंग भुम्या पर्व रहेको बताउनुभयो । भुम्या पर्वको संरक्षणमा स्थानीय सरकारले जोड दिनुपर्ने भनाई उहाँको थियो । यस्तै पहिलो संविधान सभा सदस्य जुनकुमारी रोकाले भुमिको पुजा गरि मनाउने भुम्या पर्व मगर समुदाय मात्र नभएर नेपालिहरु सबैको पर्व हुनुपर्नेमा जोड दिनुभएको छ । कतिपय पुराना कला संस्कृति लोप हुँदै गएको अवस्थामा भुम्या पर्वप्रती नया पुस्ता निकै उत्साहित भएर आकर्षित भएकोप्रती खुसी व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य तेजबहादुर ओलिले भुम्यालाई साझा पर्वको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसलाई राष्ट्रिय पर्वको रुपमा पनि विकास गर्नुपर्नेमा उहाले जोड दिनुभयो । यस पर्वले यहाको सिङ्गो पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने भनाई उहाँको छ । मौलिक पहिचानसहितको संस्कृतिलाई जोगाईराख्न पनि उहाँले सबैलाई अपिल गर्नुभएको छ ।

महोत्सवमा विभिन्न सांस्कृतीक प्रतियोगिता पनि आयोजना गरिएको छ । भूम्या नाँच, ढोङ्गे अर्थात नचारु नाँच, मयुर नाँच, पैसेरु नाँच, फाँक र झोरेली नाँच प्रतियोगिता सञ्चालन गरिने भएका छन् । प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिकाका अनुसार भूम्या नाँचमा प्रथम स्थान हासिल गर्नेलाई एक लाख, दोस्रो स्थान हासिल गर्नेलाई ७५ हजार, तृतीय स्थान हासिल गर्नेलाई ५० हजार र सान्तवना स्थान हासिल गर्नेलाई २० हजार पुरस्कार प्रदान गरिने छ । यसैगरी ढोङ्गे अर्थात नचारु नाँचमा प्रथाम स्थान हासिल गर्नेलाई ७५ हजार, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र सान्तवना स्थान हासिल गर्नेलाई १५ हजार पुरस्कार प्रदान गरिने छ ।

यसैगरी मयुर नाँचमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्तवना हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पैसेरु नाँचमा क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई ३० हजार, २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी फाँक नाँच र झोरेली नाँचमा पनि प्रथम, दोस्रो, तेस्रो र सान्तवना स्थान हासिल गर्नेलाई क्रमशः ३० हजार, २० हजा, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने छ । भूम्या पर्व सांस्कृतीक महोत्सवलाई संबोधन गर्न संघिय र प्रदेश सासंद तथा पूर्व मन्त्रि पनि गृह जिल्लामा पुग्नुभएको थियो ।

भूम्मा पर्व
भूम्या पर्वले अहिले रुकुम(पूर्व)मा छुट्टै खालको रौनकता छाएको छ । भूम्या पर्वको अर्को नाम बलपुजा पनि हो । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।

रुकुम(पूर्व) मा मङ्गलबार बिहानै भूम्या पर्व मनाउने युवायुवती सबै फूल टिप्न लेक उक्लिएका थिए भने साँझको समयमा उनीहरु फूल टिपेर लेकबाट ओर्लिएका थिए । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजाअगावै मारिङ, फूलबारीलगायतका लेकमा भूमि देवतालाई धारधुप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूम्या सुरु भएको बुभिन्छ ।

फूल लेकाली देवताको सगुनको रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ । पुजारी गाउँलेले खटाएको हुन्छ । पुजारीले लेकमा धजा, धारधुप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस भनी बाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोशाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन् । पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दशैँमा ढोकामा राखिएको टीका–जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन् । त्यसैलाई नै बल हाल्ने भन्ने गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने जनविश्वास छ ।

पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुम(पूर्व) को भूमे गाउँपालिकामा मनाइन्छ । पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ । यस पर्वकै नामबाट भूमे गाउँपालिकाको नाम समेत कायम गरिएको हो ।