रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम गाउँसभामा पेश गरेको छ । गाउँसभाका अध्यक्षले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति कार्यक्रमलाई शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ ।
“आधारभूत शिक्षामा समान पहुँच अनिवार्य, प्रविधिमा आधारित गुणस्तरिय शिक्षा अपरिहार्य” भन्ने नारासहित शिक्षामा विभिन्न कार्यक्रमहरु ल्याइएका छन् । शिक्षामा लगानी बढाउदै जाने र मानव स्रोतलाइ पूजीमा बदल्ने अभियानलाइ यस पालिकाले प्राथमिकतामा राखेको छ । युनिसेफ, युनएफपिए जस्ता निकायहरुसँगको सहकार्यमा बालमैत्री स्थानीय शासन र बृहत्तर विद्यालय सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । मापदण्ड सहितका विद्यालय भवन निर्माण, फर्नीचरको उपलव्धता, विद्यालयमा खानेपानी शौचालयको सुविधा, खेलकुद मैदान निर्माण तथा पुस्तकालय एवं शैक्षिक सामाग्रीको सहयोग गर्ने नीति गाउँपालिकाले लिएको छ ।
गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री, पूर्वाधारयुक्त, गुणस्तरीय र सुशासनयुक्त बनाउनुका साथै वार्षिक शैक्षिक तालिका, परीक्षा प्रणाली, प्रतिवेदन र लेखाङ्कनलाई एकरुपता बनाईनेछ । शैक्षिक क्षेत्रमा देखापरेका कमिकमजोरी हटाई क्रमशः सुधार गर्दै लैजान सरोकारवाला पक्षहरुसँगको समन्वयमा अनुगमन तथा नियमन कार्यमा जोड दिइनेछ । शिक्षण पेशामा अब्बल प्रतिभाहरुलाई प्रवेश गराउन विश्वविद्यालयबाट उत्कृष्ट अङ्क हासिल गरेका प्रतिभालाई विषय तथा आवश्यकताका आधारमा शिक्षण पेशामा प्रवेश गर्न पाउने सहज कानुनी व्यवस्था गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
विद्यालय विमुख तथा बालविवाहबाट पिडित किशोरीहरुका लागि जीवन उपयोगी शिक्षा कार्यक्रम सन्चालन गरीने छ । राष्ट्रिय पाठ्यक्रमले स्थानीय तहबाट निर्माण हुनेगरी छुट्याइएको कार्यक्रमलाई स्थानीय आवश्यकता अनुरुप व्यवहारिक र जीवनोपयोगी एवं समसामयिक बनाउन सिस्ने गाउँपालिका स्तरको आधारभूत तह कक्षा (६–८) को पाठ्यक्रम तयार गरी कक्षा ६ र ७ को पाठ्यपुस्तक समेत निर्माण गरी लागु गरिसकेको अवस्थामा कक्षा ८ को पाठ्यपुस्तक निर्माण गरी यसै वर्ष देखि कार्यान्वयनमा ल्याइनेछ । शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई विद्यालय स्तरमा समग्र शिक्षण सिकाइ व्यवस्थापनको नेतृत्वदायी भूमिकाको लागि जिम्मेवार गराउन र विषयगत रुपमा शिक्षकहरुको क्षमता विकास गर्न छोटा अवधिका तालिम सञ्चालन गरिने कुरा नीति कार्यक्रममा उल्लेख छ ।
विद्यालयमा विद्यार्थी उपस्थितिलाई अभिवृद्धी गर्न सबै विद्यालयमा दिवाखाजा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीयता कायम गर्न विद्यालयगत आवश्यक्ताका आधारमा चमेना गृह विस्तार कार्यक्रमहरु व्यवस्थापन गर्दै निरन्तर अनुगमन कर्यमा जोड दिइनेछ । कार्यक्रमको सफलतालाई मूल्याङ्कन गरी प्रभावकारीताको आधारमा आगामी वर्षहरुमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शिक्षक दरवन्दी मिलान, शिक्षक नियुक्ति, शिक्षक सरुवा तथा विद्यालय कर्मचारी नियुक्ति प्रक्रियालाई व्यवस्थित, नियमसंगत र पारदर्शी बनाउन जोड दिइनेछ । शिक्षा क्षेत्रमा नवीनतम प्रविधि र अनुकरणीय कार्यको अवलम्वन गर्ने उद्देश्यले शैक्षिक भ्रमण तथा अन्तरविद्यालय भेटघाटलाई जोड दिइनेछ। विद्यालयहरुको अनुगमन प्रतिवेदनका आधारमा विद्यालय सार्ने, मर्ज गर्ने, बन्द गर्ने र अनुमती प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्दै निरन्तरता दिइने कुरा नीति कार्यक्रममा समेटीएको छ ।
गाउँपालिका भित्र कम्तिमा ३ विद्यालयमा फरक फरक क्षेत्र तथा विषयगत प्राविधिक शिक्षा सञ्चालन नीति अन्तर्गत त्रिभुवन जनता मा वि छिप्रिदहमा ईलेक्ट्रीकल, रुक्मिणी मा. वि. मा शुद्ध विज्ञान विषयमा पढ्ने विद्यार्थीहरु बिचमै कक्षा छोड्ने दरलाई कम गर्नको लागि छात्रवृत्तिको व्यवस्था गरिनुका साथै जनता मा. वि. पोखरामा सब ईन्जिनियरिङ्ग कोर्ष सञ्चालन भइरहेकोले त्यसको लागि प्रशिक्षकको व्यवस्थापन भइसकेकोले उक्त कार्यलाई निरन्तरता दिइनेछ । विशेष कक्षा सञ्चालन भएका विद्यालयहरुमा सुस्तश्रवण, दृष्टिविहिन, न्यून दृष्टि र बहिरा छात्रछात्राहरुको लागि आवासको व्यवस्था गरिसकेकोले नियमित अनुगमन सहित यसलाई पूर्ण रुपमा कार्यान्वयमा लगिनेछ ।
सिस्ने गाउँपालिकाभित्र रहेका सबै माध्यमिक स्तरमा बृहत्तर यौनिकता तथा प्रजनन स्वास्थ्य किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गरीएकोले यस आ. व. मा आवश्यक बजेटको व्यवस्था गरी किशोरीमैत्री सूचना केद्नको स्तरोन्नती गरिनेछ ।
विद्यालय शिक्षाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक समयानुकुल परिमार्जन गर्नुका साथै आधारभुत तहको कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेकोले पाठ्यपुस्तक तयार गरी चरणबद्ध रुपमा कार्यान्वयन ल्याइनेछ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई टिनको छानामुक्त गर्ने कार्यको शुरुवात गरिनेछ । प्रविधिमैत्री शैक्षिक कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विधुतको पहुँच नभएका विद्यालयहरुमा सौर्य उर्जाको बैकल्पिक व्यवस्थापन कार्यलाई जोड दिइनेछ । विद्यालयहरुको आवश्यक्ता आधारमा तहगत र विषयगत श्रव्य, श्रव्य– दृश्य लगायतका शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्दै लगिनेछ । रुक्मिणी पुस्तकालयलाई ई–लाइब्रेरी र वाचानालयसम्म विकास गर्न पूर्वाधार निर्माण गरिने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्षको नीति कार्यक्रम क्रमशः शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर प्रस्तुत गरेको छ ।