
रुकुम(पूर्व) मा दुई वटा सब स्टेसन निर्माण हुने भएका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ को रुवाबाङ र भूमे गाउँपालिका वडा नम्बर २ स्थित काँक्रिमा ३३ केभि वितरण लाईन क्षमताको सब स्टेसन निर्माण गर्न लागिएको हो । यी ठाउँमा नेपाल सरकार र यूरोपीयन ईन्भेस्टमेन्ट बैंकको ऋण लगानीमा सब स्टेसन निर्माण गरिने छ ।
काँक्रिको सब स्टेसनमा रोल्पामा निर्माण हुन लागेको सब स्टेसनबाट विद्युत लाइन जोडिने छ भने काँक्रि सब स्टेसनबाट रुवाबाङमा रहेको सब स्टेसनमा विद्युत लाइन जोडिने छ । सब स्टेसन निर्माणको लागि भूमे गाउँपालिका २ काँक्रिमा जग्गा प्राप्त भएर बोलपत्र आह्वान भइसकेको छ भने सिस्ने गाउँपालिकामा जग्गा प्राप्तीको प्रक्रिया चलिरहेको छ । दुवै ठाउँमा ३ एम. भि. ए. क्षमताको सब स्टेसन निर्माण गरिने छ । वितरण प्रणाली स्तरोन्नतती तथा विस्तार आयोजना ९म्क्ग्भ्ए० ले नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका २३ जिल्लामा ३१ आयोजना निर्माण गर्दै छ ।
तीनै ३१ आयोजना अन्तर्गत मुसिकोट–रुकुमकोट–काँक्रि वितरण लाइन पनि एक उपआयोजना हो । यस उपआयोजनाले सिस्ने र भूमे गाउँपालिकाको विद्युत आपूर्तीमा सुधार आउने अपेक्षा गरिएको छ । यसै योजनालाई अघि बढाउनको लागि सामाजिक, वातावरणीय र प्राविधिक अध्यन पनि भइसकेको नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका इन्जिनीयर सुरजकुमार ढुङ्गेलले बताउनुभयो । काँक्रि सव स्टेशन निर्माणको लागि बोलपत्र आह्वान भइसकेको बताउदै इन्जिनीयर ढुङ्गेलले त्यहाँको सव स्टेसन निर्माण र विद्युतीकरणको लागि ७० करोड बजेट रहेको बताउनुभयो ।
उहाँकाअनुसार सिस्नेको लागि भने जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ । “रुवाबाङमा सरकारी जग्गा प्राप्त नभएपछि जग्गा प्राप्ती ऐनअनुसार सावर्जनिक सुचना निकालिएको थियो”, इन्जिनीयर ढुङ्गेलले भन्नुभयो, “सुचनामा परेको आवेदनहरु मध्येमा सबैभन्दा उत्कृष्ट र प्राविधिक हिसावले उपयुक्त ठाउँ छनोट गरि काम अघि बढाइन्छ, रुवाबाङमा एक जनाको मात्र आवेदन परेको छ ।” आवेदन परेको व्यक्तिको जग्गा सव स्टेसन निर्माणको लागि उपयुक्त भएकाले मुआब्जा निर्धारणको प्रक्रिया अघि बढाइएको उहाँको भनाई छ ।
असार १५ गते प्रमुख जिल्ला अधिकारी एवम् मुआब्जा निर्धारण समितिका अध्यक्ष तुलाराज सुनुवारको अध्यक्षतामा बैठक बसेर जग्गा अधिग्रहण गर्न सुचना उपर परेको निवेदनअनुसार अधिग्रहण गर्न सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको संयोजकत्वमा ५ सदस्यीय मुआब्जा निर्धारण उपसमिति निर्माण गरिएको छ । जसको सदस्य सचिवमा रुकुम(पूर्व) वितरण केन्द्रका प्रमुख सुरेशप्रशाद चौधरी रहनुभएको छ । सदस्यमा नापी कार्यालयका नापी अधिकृत सृष्टि बैदार, प्रहरी निरीक्षक कृष्ण खत्री र मालपोत कार्यालयका नासु निलध्वज पाण्डे रहनुभएको छ । यस उप समितिले छिटै समितिलाई रिपोर्ट तयार पारेर बुझाउने छ । जसको लागि आज इन्जिनीयर ढुङ्गेलसहित सहायक प्रमुख जिल्ला अधिकारी एवम् उपसमिति संयोजक आचार्यले रुवाबाङको स्थलगत अध्यन गर्नुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले मालपोत र स्थानीय सरकारसँग दररेट माग गरेको बताउनुभयो । उहाँले स्थानीय सरकार र मालपोतबाट दर रेट उपलब्ध हुनेबित्तिकै उपसमितिले स्थानीय चलनचल्तिको मुल्य, दररेट, मालपोत दररेट, बैकिंङ कारोबारको दररेट, अन्य प्रचलीत विधि र प्रक्रियाबमोजिम जग्गाको दररेटसहितको प्रतिवेदन तयार पारि १५ दिनभित्र समितिमा पेश गर्ने बताउनुभयो ।
जिल्लामा अहिलेसम्म कुनै पनि ठाउँमा सब स्टेसन निर्माण गरिएको छैन् । सब स्टेसन निर्माण भएमा सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको विद्युत सेवा अनियमित हुने समस्याको अन्त्य हुने छ भने जिल्लामा प्राधिकरणको विद्युत विस्तार हुने छ । जिल्लामा विभिन्न विद्युत आयोजना पनि निर्मानाधिन अवस्थामा छन् । सब स्टेसन निर्माणले तीनै आयोजनालाई पनि सहयोग पुग्ने बताइएको छ ।