
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा किसानलाई कृषि औजार वितरण गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले शनिबार मौरी ब्लक कार्यक्रम र मकै मिसन कार्यक्रम सञ्चालन भएको ठाउँका किसानलाई कृषि औजार हस्तान्त्रण गर्नुभएको हो ।
पोखरामा रहेको सिर्जनशिल मौरी पालन सहकारी संस्थामा आबद्ध किसानलाई सभामुख घर्तीसँगै प्रमुख जिल्ला अधिकारीलगाएतको टोलीले कृषि औजार हस्तान्त्रण गर्नुभएको हो । संयुक्त अनुमणमा गएको टोलीले किसानलाई कृषि औजार हस्तान्त्रण गरेपछि उनिहरु खुसी भएका छन् । मौरी ब्लक र मकै मिसन कार्यक्रमअन्तगर्त ९ सय ४२ वटा घार, एक हजार बोट चिउरी, एक हजार बोट कल्की फूल, एक सय ५० किलो तोरीको बिउँ, २ वटा कम्बाइन मिल, १० वटा मिनिटीलर, ५ वटा मकै छोडाउने मेसिन, एक सय थान त्रिपाल लगाएतका अन्य सामाग्री किसानलाई हस्तान्त्रण गरिएको छ ।
कृषि औजार हस्तान्त्रण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख घर्तीले मकै मिसन र मौरी ब्लक कार्यक्रम लागु भएको यस क्षेत्रका किसानलाई सरकारले कृषिमा गरेको लगानीलाई भरपुर रुपमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ । मौरीको पकेट क्षेत्र पोखरामा मह पाइन छोडेको गुनासो आइरहदा ब्लक कार्यक्रम सञ्चालन भइसकेपछि मह उत्पादनलाई बढाउन र यसबाट लाभ लिन किसानलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सभामुख घर्तीसँगै प्रमुख जिल्ला अधिकारी सुनुवार, सुरक्षा निकायका प्रमुख, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतलगाएत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।