रुकुम(पूर्व) मा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका ६ छिप्रीदहस्थित होटेल लेक सिटीको हलमा मंगलबारबाट सुरु भएको तालिम बिहिबारसम्म चल्ने छ । तीन दिनको अवधिमा यस तालिममा खानेपानी, सरसफाई र स्वच्छताको बारेमा छलफल गरिने छ । यसै छलफलबाट विपदको बेलामा खानेपानी, सरसफाई र स्वच्छतालाई कसरी अंगाल्न सकिन्छ भनेर योजना तयार पार्ने काम गरिने छ ।

जिल्ला, पालिकास्थित विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा चलिरहेको तालिमा वास सम्बन्धि बृहत छलफल गरेर तयार पारिने योजनाले विपदको सामना गर्न सहज हुने विश्वास लिइएको छ । विपदले मानिस समस्यामा परेको बेलामा असुरक्षित पिउने पानी, सरसफाई, स्वच्छताको अभावले फेरी अर्को विपद ननिम्तियोस भन्ने उदेश्य राखेर यो तालिमको आयोजना गरिएको जिल्ला विपद व्यवस्थापन समिति रुकुम(पूर्व) ले जानकारी दिएको छ । योसँगै विपद व्यवस्थापन समिति सदस्यहरुको क्षमता विकास र यो तालिमपछि बन्ने योजनालाई कार्यान्वयनमा कसरी लैजाने भन्ने कुरामा पनि यो तालिमले सहयोग गर्ने बताइएको छ ।

रुकुम(पूर्व) मा संयुक्त राष्ट्र संघिय बालकोष (यूनिसेफ) को आर्थिक र रुक्मेली समाज विकास केन्द्रको प्राविधिक सहयोग तथा जिल्ला विपद व्यवस्थापन समिति रुकुम(पूर्व) को आयोजनामा तालिम सञ्चालन गरिएको हो । यो तालिमको सहजिकरण रुक्मेली समाज विकास केन्द्रकी वास परामर्शदाता शोभा राना मगरले गरिरहनुभएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमो गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पूनीराज घर्तीसँगै जिल्ला विपद व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन रुक्मेली समाज विकास केन्द्रका दस्ताबेजिकरण अधिकृत नरेन्द्र ओलीले गर्नुभएको थियो ।