रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका युवाहरुको सक्रियतामा बाटो सफाईको कार्य गरिएको छ । माओवादी केन्द्र सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश कार्कीको नेतृत्वमा खटिएको युवा टोलीले बाटो सफाईको काम गरेको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ को चोकबजार देखी बाहुनठानाको खाराचोकसम्मको मोटरबाटो सफाईको काम गरिएको नेकपा माओवादी केन्द्रका सिस्ने गाउँपालिका समितिका सदस्य विकास बुढाथोकीले जानकारी दिनुभएको छ । यस खण्डमा ढल निकासको काम गर्दा स्वस्तिक नेपाल कन्स्ट्रक्सन प्राली पेप्सि खोला काठमाडौंले बाटो राम्रोसँग सफा गरिदिएको थिएन् । जसको कारण बर्खाको झरी र बाटोको खाल्डाखुल्डीको कारण हिलाम्य सडकमा यातायातका साधनलाई ओहोरदोहोर गर्न तथा पैदल यात्रुहरुलाई पनि यात्रा गर्न समस्या भइरहेको थियो ।

लामो समयसम्म पनि सडक सफाईतर्फ कसैले ध्यान नदिएपछी यहाँका स्थानीय एवम् माओवादी केन्द्रका युवा तथा कार्यकर्ताको सक्रियतामा बाटो सफाई गरिएको बुढाथोकीले बताउनुभएको छ । उहाँकाअनुसार बाटोमा परेको खाल्डाखुल्डीलाई पूर्नको लागी सिस्ने गाउँपालिकाले टिप्पर उपलब्ध गराएको थियो भने नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश कार्कीले आफ्नो जन्मदिनको उपलक्षमा निशुल्क जेसीवी उपलब्ध गराउनुभएको थियो ।

मुख्य बजार तथा सडकमा परेको खाल्डाखुल्डीले यातायातका साधनसँगै स्थानीय एवम् पैदल यात्रुहरुलाई यात्रा गर्न समस्या भइरहेको बेलामा समाजसेवी युवाहरुले खाल्डाखुल्डी पुरेर बाटो सफाई गरेपछि आफुहरुलाई सहज भएको सिस्ने ५ का भरत कुमार बोहोराले बताउनुभएको छ ।

बाटो सफाई कार्यमा सिस्ने गाउँपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष शान्ते बहादुर विक सहित नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका ५ को वडा समितिका पदाधिकारी सदस्यहरु र पार्टीका कार्यकर्ताको उपस्थिती रहेको थियो । सदरमुकामको वडा भित्र पर्ने यस चोकबजार क्षेत्रमा सडक पिच नहुँदा वर्षेणी यस्तो खालको समस्या झेल्नुपरिरहेको छ ।