रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा मृत भेटिएका दुई नाबालिकाहरुको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरीहरु ११ वर्षकी रिना बुढामगर र ९ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोहि ठाउँका दुई जना नाबालिकाहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) की प्रहरी नायव उपरिक्षक (डिएसपी) अन्जना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोहि ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राती अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोजतलास गर्दा पनि उनिहरु भेटिएका थिएनन् । २३ गते बिहानै खोजतलास गर्दा उनिहरुको ध्याङरजुङ भिरमा शव फेला परेको थियो । शव फेला परेपछि तालिमप्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा ७ जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो ।

उनिहरुको बयानको आधारमा ५ जनालाई छोडिएको छ भने हत्यामा संलग्न दुई जना नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको डिएसपी श्रेष्ठले बताउनुभयो । ती दुई नाबालिकाहरुलाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ ।

रिना र कालिमायालाई उनिहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाहरुले दिएका छन् । उनिहरुले लगाएको गहना लुटेर जंगलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । रिना र कालिमाया दुई दिदिबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार पोष्टमार्टव गरी आफन्तलाई जिम्मा लगाइसकिएको छ ।