वैशाख ३० मा भएको स्थानीय तह चुनावमा विजय भएपछि रुकुम(पूर्व) मा विजयी उत्सव मनाउने क्रम जारी छ । ३० गते चुनाव सकिएपछि जिल्लामा ३१ गतेबाटै मत गाणनाको कार्य सुरु गरिएको थियो । विभिन्न वडाको मत परिणाम सार्वजनिक गर्दै गर्दा पनि सम्बन्धित वडाका विजयीहरुले उत्सव मननाइरहेका थिए ।

जिल्लाको सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाको सिंगो मत परिणाम आइसकेपछि भने विजयी भएकाहरुले आज उत्सव मनाएका थिए । सिस्नेमा नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा कृष्ण रेग्मि विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमाले कांग्रेस गठबन्धनबाट एमालेका गोपाल रेउले विजयी हुनुभएको छ । यस्तै सिस्नेको ५ र ६ नम्बर वडामा पनि एमाले र कांग्रेसले एकएक वटा वडामा विजयी हासिल गरेका छन् । यहि विजयी भएको टोलिले रुकुमकोटमा आज विजयउत्सव मनाएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एककिृत समाजवादीले छुट्टै विजयी र्याली निकालेको थियो भने एमाले–कांग्रेस गठबन्धनले छुट्टै र्याली निकालेका थिए । दुई वटै र्यालीले रुकुमकोट परिक्रमा गरि छिप्रीदहमा कोणसभा गरेका थिए । कोणसभा कार्यक्रमलाई संबोधन गर्दै सिस्ने गाउँपालिकामा निर्वाचित हुनुभएका गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले चुनावी अभियानको क्रममा जनतासामु घोषणा पत्रमार्फत लगेर गएका एजेण्डाहरुलाई आधार बनाई काम गर्ने बताउनुभएको छ । उहाँले अमुल्य भोट दिएर पालिका र विभिन्न वडामा माओवादी केन्द्रका प्रतिनीधिलाई निर्वाचित गराएकोमा धन्यवाद दिनुभयो ।

साथै अवका दिनमा पालिका सरकारको प्रमुख भइसकेपछि सबै नागरिकलाई समान, सहज र सर्वसुलभ सेवा दिने कुरा नै प्राथमिकतामा पर्ने नव निर्वाचित पालिका अध्यक्ष रेग्मिले बताउनुभएको छ । यस्तै नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित गोपाल रेउलेले पनि जनताको मतलाई त्यसै खेर जान नदिने बताउनुभएको छ । जनताको चाहना र आवश्यकतालाई ध्यानमा राख्दै पालिकाबाट सेवा प्रवाह गर्ने उहाँले बताउनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टीबाट सिस्ने गाउँपालिका ६ मा निर्वाचित वडा सदस्य मोहनबहादुर केसीले पनि जनचाहनाअनुसार काम गर्ने र माओवादी केन्द्रसँग गरेको गठबन्धनलाई कायम गरिरहने बताउनुभएको छ । उहाँहरु सबैले अमुल्य मत दिएर जिताएको भन्दै नागरिकलाई धन्यवाद दिनुभएको छ । यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा पनि आज विजयउत्सव मनाइएको छ । तकसेरामा विजयी उत्सव कार्यक्रम गरिएको हो । यस पालिकामा नेकपा माओवादी केन्द्रको तफर्mबाट पालिका अध्यक्षमा पुनीराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा भारी मतका साथ विजयी बन्नुभएको छ ।