रुकुम(पूर्व) को सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले सिलाई कटाई तालिमका सहभागिलाई व्यवसायिक उद्यमी बन्न आग्रह गर्नुभएको छ । शुक्रबार लघु उद्यम विकास शाखा सिस्ने गाउँपालिकाले आयोजना गरेको एक महिने सिलाई कटाई सम्बन्धि स्तरोन्नति तालिम उद्घाटन गर्दै रेउलेले यस्तो बताउनुभएको हो ।

गाउँपालिकाले गत वर्ष सृजना भएका उद्यमीका लागि ५ नम्बर वडाको सामुदायिक महिला भवनमा शुक्रबारदेखि सिलाई सम्बन्धि स्तरोन्नति तालिमको आयोजना गरेको छ । स्थानिय सरकारले दिएको सिपलाई भरपुर प्रयोग गर्दै तपाईहरु सफल उद्यमी बन्नु पर्छ उपाध्यक्ष रेउलेले भन्नुभयो । यस तालिमले तपाईहरुलाई व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बन्न महत्वपूर्ण सहयोग गर्ने छ ।

सहज जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई रेउलेले आग्रह गर्नुभयो । महिलालाई आत्मनिर्भर बनाउन सिस्ने गाउँपालिकाले मागमा आधारित विभिन्न सीप तथा तालिम प्रदान गरिरहेको बताउदै यसले सिस्नेवासिलाई स्वरोजगार बन्न बाटो खुलेकोे उहाँको भनाई छ ।

यस्तै निमित्त प्रमुख प्रशासकयि अधिकृत चिन्तामणि दाहालले लघु उद्यम मार्फत सिपयुक्त जनशक्तिको विकास गरी रोजगारीको सिर्जना गर्ने दिशामा सिस्ने सरकार अगाडि बढेको धारणा राख्नुभयो । यस्ता तालिमले महिलालाई आत्मनिर्भर मात्र नभई शसक्तिकरण गर्न चेतनाको विकास गराउन ठुलो सहयोग गर्ने दाहालले बताउनुभयो । तालिमका सहभागिलाई व्यवसायिक बन्ने गरी तालिम लिन उहाँहरुले आग्रह गर्नुभएको छ ।

एक महिने स्तरोन्नति तालिमको सैद्धान्तिक र व्यवहारिक ज्ञान सिस्ने ५ का कमल नेपालीले दिइ रहनु भएको छ । तालिममा ५ नम्बर वडाका ११ जना महिलाको सहभागिता छ । गत आर्थिक वर्षमा आधारभुत तालिम लिएका उद्यमीलाई यस वर्ष स्तरोन्नति तालिम दिन सुरु गरिएको हो ।