
संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ वटा विद्यालय छनोट भएका छन् । विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रम अन्तर्गत जिल्लाका ३ स्थानीय तहका १४ वटा विद्यालय छनोटमा परेको हुन् ।
यस कार्यक्रम अन्तर्गत ४ कोठे र २ कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । ४ कोठे भवनका लागि प्रति विद्यालय ३६ लाख, २ कोठे भवनका लागि १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाई रुकुम (पूर्व)का प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । यो कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका ६ वटा विद्यालय भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका ४÷४ वटा विद्यालय छनोटमा परेका छन् ।
सिस्ने १ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आइसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा ४ कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा २ कोठे भवन निर्माण हुने भएका छन् ।
भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुने छ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा २ कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला ४ कोठे भवन निर्माण हुने छन् । पुथाउत्तरगंगाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र ४ कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा २ कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा ४ कोठे भवन निर्माण हुने भएका छन् ।
यस्तै वडा नम्बर ११ को उत्तरगंगा आधारभूत विद्यालय सेराबालुवामा आइसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तिय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया सुरु हुने समन्वय एकाइ प्रमुख गौतमले बताउनुभयो ।