रुकुम पूर्वबाट रोल्पा जिल्लाको थबाङ गाउँपालिका–१, जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा २० जनाको दुःखद निधन भएको छ । यो दुर्घटनाले यतिबेला रुकुम पूर्व शोकमग्न छ ।
प्राप्त पछिल्लो जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा क्षेत्रका बासिन्दा रहेको जनाइएको छ । घटनापछि स्थानीय समुदायमा गहिरो शोक छाएको छ भने परिवारजन विक्षिप्त बनेका छन् ।
दुर्घटनापछि उद्धार कार्य जारी रहेको र घाइतेहरूको उपचार भइरहेको सुरक्षा निकायले जनाएको छ ।
स्थानीय तहदेखि राजनीतिक तथा सामाजिक क्षेत्रसम्मका विभिन्न व्यक्तित्वहरूले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
घटनाले रुकुम पूर्व मात्र होइन, समग्र देशलाई नै स्तब्ध बनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

