रुपौली शब्द मगर खाम भाषाको शब्द हो । जुन रुपौलीको नेपाली अर्थ हुन्छ रुपवती । रुपवती शब्दले सुन्दर रुप भएकी, आकर्षक स्त्रिलाई बुझाउछ । रुपौली नाम किन स्त्रिको सुन्दरतासँग जोडिन आयो भन्ने कुरा मनमा लाग्न पनि सक्दछ । रुपौली आफैमा श्रृङ्गारिक छ । उसो त हिमाल र तालतलैयालाई स्त्रिसँग सम्बन्धित मानिनु सांस्कृतिक, भाषिक र प्रतिकात्मक कारणले हो । यसको कुनै वैज्ञानिक वा जैविक कारण भने छैन् । प्रकृतिलाई आमा वा मातृ शक्तिका रुपमा हेर्ने परम्परा छ । हिमाल, नदि, ताल, वन जीवन दिने प्रकृतिका अंग भएकाले स्त्रि अर्थात मातृ रुपसँग जोडिन्छन् । पानीलाई जीवन, उर्वरता, पोषण र सिर्जनासँग जोडिन्छन् । यी गुणहरु परम्परागत रुपमा स्त्रिसँग सम्बन्धित प्रतिकका रुपमा प्रयोग भएका हुन्छन् । हिमाल र ताल स्त्रि नै हुन भन्ने होइन । प्रकृतिलाई स्त्रि अर्थात मातृ रुपमा कल्पना गर्ने सांस्कृतिक प्रतिकात्मकता हो ।
यस रुपौली क्षेत्रलाई पहिले ङिम्कुँ भनिन्थ्यो । यो रुकुम पूर्वको ५ हजर ८३३ मिटर उचाई भएको हिमाल हो । यो हिमालको काखमा १४ वटा तालहरु छन् । यो क्षेत्रलाई पहिले ङिम्कुँ भनेर भन्दै आएपनि केहि वर्ष अघि मात्र त्याहाँका स्थानीयले यस ठाउँको नाम रुपौली भनेर नामाकरण गरेका थिए । सायद त्याहाँको सुन्दरतालाई न्याय मिल्ने नाम नै यहि थियो । अहिले यो रुपौली नाम स्थापित भएर यस क्षेत्रको पहिचान यहि रुपौली शब्दले बोकेको छ । यही रुपौली बेस क्याम्प जुन ५ हजार २०० मिटरको उचाइमा अवस्थित छ । यसैलाई गन्तव्य बनाएर विभिन्न जिल्लाका दुई दर्जन बढी यात्रीहरुले असोजको ४ देखी १० गतेसम्म एक साताको यात्रा सँगै गरेका थियौ ।

असोजको महिनाको ३ गते थियो । रुकुमकोटबाट जिप चढेर साझको ५ बजे तकसेरामा रहेको तकसेरा कम्यूनिटी होमस्टेमा पुगियो । होमस्टे संचालक दाई देवा रोका र भाउजुसँग भेट भयो । तातो पानी र चिया पिउदै साथीसँग गफिदै साझको खाना खाएर सुत्यौ । टाढाका साथीहरुको आगमन राती १ बजेसम्मै भइरहेको थियो । ४ गते बिहान उठेर सबै जना आफ्नो इच्छा अनुसार तकसेरा गाउँ घुम्यौ । फोटो खिच्यौ । भिडियोहरु बनायौ । त्यसपछि देवा दाइको होमस्टेमा भाउजुको न्यानो माया मिसिएको स्वादिष्ट खाना खाएर दुई वटा गाडिमा सबै जना पहिलो दिनको गन्तव्य मैकोटको लागि निस्कियौ ।

तक देखी गरसम्म पुग्दा हामीले उर्लदो खोला र पहिरोको कारण ४ वटा गाडिहरु परिवर्तन गरेका थियौ । यो यात्रामा मेरा लागि केही पुरानै अनुहारहरु थिए भने केही नयाँ अनुहारहरु थिए । यसै पनि यात्रामा जोडिने सबै पात्रहरु मेरा लागि खुला किताब जस्तै हुन । सकेसम्म र मिलेसम्म सबैलाई पढ्ने कोसिस गरेकै हुन्छु । तकदेखी गरसम्मको यात्रामा गाडि परिवर्तन गरिरहदा सकस भइरहेकै थियो र पनि हामीले त्यसमा फरक खालको रमाइलो महसुस गरेका थियौ । एकले अर्कालाई साहारा दिदै खोला तरेका थियौ ।

मेरो लागि यो यात्रा विशेष थियो । हजुरहरुले घुमन्ते नाम पक्कै सुन्नुभएको छ होला । घुमन्ते पेज र युट्युबका भिडियो हेर्नुभएको छ होला । कन्चन राई नाम सुन्नुभएकै होला । यो यात्रामा उहाँ जोडिनुनै मेरो लागि विशेष र सबैको यात्रा खास हुनुको कारण थियो । कन्चन राईसँगको यो मेरो दोस्रो भेट थियो भने सँगै यात्रा जुरेको पहिलो पटक थियो ।
पहिलो दिनको यात्रामा हामीले मयाङमा पुगेर खाजा खाएका थियौ । कन्चन सरलाई सायदै त्यसपछि खाएका खाजा र खानाको स्वाद पहिलेको जसो लाएन होला । निन्द्रा राम्रो लाएन होला । यात्रामा हामीलाई देखिने सुन्दर दृश्यहरु धमिला देखिएका थिए होला । यात्राका सहयात्रीहरु फिक्का लागे होला । पेदी देखी माथी चढेपछि देखिने पाटनहरुमा मन दौडाउने चाहना हुदाहुँदै पनि उहाँको मन ती पाटनहरुमा दौडिन सकेन होला । कहिकतै मन दौडाय पनि अड्याउन सक्नुभएन होला । खोलानाला, भिरपाखा, उकालीओराली गर्दै तन रुपौली पुगेपनि यात्राको पहिलो दिनमै गरमा हराएको मोबाइलतिरै मन दौडरह्यो होला । खैर यो मेरो अनुमान हो । मनमा के थियो सत्य कुरा त उहाँलाई नै थाहा होला ।
गरसम्म कतै पैदाल र कतै गाडि चढेर यात्रा गर्यौ । त्यसपछिको बाकी सबै यात्रा पैदल रहेको थियो । गरबाट मैकोट जादा उकालो बाटोमा सबैलाई गाह्रो भएको थियो र पनि सबै जना सुन्दर गन्तव्यको चाहना सहित अघि बढेकै थियौ ।
मैकोट भेट्न उकालो चढ्दै गर्दा उज्यालोको लागि साथमा जून थियो ।
दायाबाँया छस्रयाक्क आवाज आउथ्यो, थाहाँ छैन् त्यो चाही कुन थियो ।
जसोतसो जूनको साहारामा छायाँ र साथीभाईको माया सहित मैकोटमा पुग्यौ । हाम्रो जिल्लाको पुथा उत्तरगंगा क्षेत्रमा अतिथी सत्कारको संस्कार मलाई विछट्टै मन पर्दछ । मैकोटीहरुले लट्टेको टिका निधारभरी लगाउदै फूलको गुच्छामा सदभाव मिसाएर मनको मझेरीमा स्वागत गर्नुभएको थियो । त्यो स्वागतलाई सहर्ष स्विकार गर्दै एकछिन उहाँहरुसँगै एक फन्को नाचेर बाटोभरीको थकाइ मेटाएका थियौ । त्यसपछि सबै जना बाडिएर होमस्टेमा बास बस्यौ ।

यात्राको दोस्रो दिनमा खुलेको मौसममा मैकोटलाई हेरेर हाम्रो मन भूलेको थियो । “रुकुम मैकोट, रुकुम मैकोट, रुकुम मैकोट, रुकुम मैकोट आखा नी राम्रै छ मन पर्यो नी ओठ” भन्ने गित नसुनेको सायदै कोही हुनुहुन्न होला । यहि गितको शब्दमा उतारिएको मैकोटमा हामी थियौ । मैकोटको गाउँ छिरेर सबै जनाले त्याहाको दैनिकीलाई नियाल्यौ । फोटो, भिडियो खिचेर रमायौ । मैकोटीले सांस्कृतिक कार्यक्रम सहित सानो अनौपचारिक कार्यक्रम गरेर सबै पाहुनालाई बिदाई गर्नुभयो । त्यसपछि खाना खाएर हामी त्यस दिनको गन्तव्य दुलेको लागि निस्कियौ । यात्रामा समुहगत रुपमा कोही साथी अगाडि पछाडी भएर हामी अघि बढिरहेका थियौ । सिमसिम पानी परिरहेकै थियो । कुहिरोको लुकामारी चलिरहेकै थियो । साथीसंगीको रेलाठट्टाले यात्रालाई सहज बनाइरहेको थियो । दोस्रो दिनको साझमा हामी दुले पुग्यौ । दुलेमा पनि व्यवस्थित रुपमा सञ्चालन भइरहेको होटेल नै रहेछ । त्यहाँको बसाइ पनि सुखद रह्यो ।

यात्राको तेस्रो दिन,
हामी दुलेबाट पिदि अर्थात पेदी पुग्नुपर्ने थियो । बिहानमा दुले गाउँलाई नियाल्यौ । गाउँको माथिपट्टी गएर पुथा हिमाललाई नियाल्यौ । बिन्जुरी फूलसँग रमायौ । मन्द सिरेटोले झस्काएपछी होटेलमा गएर खाना खाई हामी पेदीको लागि निस्कियौ । उकाली र ओरालीहरु पार गर्दै जादा डोल्पा जाने विदेशी पर्यटकहरु र उनका सहयोगिहरु भेटिएका थिए । त्यसपछी ती डोल्पाली दाईभाईहरुसँग रमाइलो गफमा भुल्दै यात्रा चलिरहेकै थियो । त्यहि क्रममा एउटा घोडा र र एउटा सामान बोकेको खच्चड भिरबाट खसेका थिए । जसोतसो ती घोडा र खच्चडलाई भिरबाट निकालिएको थियो । त्यस दिनमा पनि विभिन्न रोचक दृश्यहरु नियाल्दै पेदीमा पुगेर बास बस्यौ । पानी परेको थियो । सबैलाई आगोमा सेकिएर बस्न मन लागेको थियो । तर ठाउँ साघुरो थियो । खानापछिको समय पनि घर्किसकेको थिएन् । आज त जसरी नी गित गाउँनुपर्दछ भनेपछि मैले जानी नजानी टुक्का जोडेको थिए । गित रिलेमा गएपछी झन रमाइलो भएको थियो । छेउछाउमा देखिनेजतीलाई टुक्का हान्न बाकी राखिएको थिएन् । थकानलाई यही रमाइलोले भुलाएपछी सबै जना सुत्यौ ।

रातीभरी पानी दर्किएको थियो । खोलाको छेउमा बास छ । राती रसुवाको झै बाढी आएर बगाएर लग्यो भने के गर्ने होला भन्ने विचार मनमा आएको थियो । फेरी सोचे बाढी आए मलाई मात्र लाने होइन क्यारे यहाँ भएका जती सबैलाई लैजान्छ भनेर चित्त बुझाए । यस्तै यस्तै कुराहरु सोच्दै रात बित्यो । बिहान उठेर हेर्दा डाँडामा हिउँ परेको थियो । हिमालले सेतै बनाएर छोपेको डाँडा, पाखामा चरिरहेका नावर, कलकल बगिरहेको खोला, खोलाको दाँया बायाँ चढिरहेका घोडा, चिसो सिरेटोलाई छल्दै कफिको चुस्कीसँगै फोटो र भिडियो लिन तल्लिन हामीहरु, त्यतीबेलाको माहोल नै बेग्लै थियो । त्यसपछी सबैजना त्यहाँबाट बुकी बेस क्याम्पको लागि प्रस्थान गर्यौ ।
त्यसपछिको यात्रामा सुन्दरताको के बयान गर्नु ।


हिमालको काख र नदिको तिरैतिर भएर यात्रा अघि बढेको थियो । फूलैफूलको बाटो, पहराबाट निस्कएका पानीका लहरा, चट्टानी आकृति, कन्चन झरना, चन्चल साथीहरुको साथ । त्यो पलको वर्णन शब्दमा बयान कसरी गरु मैले । क्यामेरामा कैद भएको भन्दा सुन्दर दृश्य आखाले देखेका थिए । त्यसैले त्यो दृश्य अगाडि आफैले चित्र उतारेका तस्बिरहरु पनि फिक्का लाग्ने गर्दथे । ७ गते साझको समयमा हामी बुकी बेस क्याम्पमा पुग्यौ । देवा दाई, विशाल र साङ भाई अघिल्लो दिनमै क्याम्पमा पुगिसक्नुभएको थियो । त्यस दिनमा पनि महिला टोली पहिले पुगेका थियौ भने पुरुषहरुको टोली पछाडी आउदै थियो । पुग्ने बित्तिकै ब्याग बिसाएर चारैतिरको माहोललाई नियाल्यौ । पाटनमा रङ्गिबिरङ्गी फूलहरु फूले झै बुकी बेस क्याम्पमा रङ्गिबिरङ्गी टेन्टहरु पनि फूल फूले झै लागेको थियो । हावाको गतिसँगै हल्लिरहेका लुङदरले बेस क्याम्पको सुन्दरतालाई अझ बढाएको थियो । त्यहाको माहोल अवलोकनपछि तातो पानी पियौ । यत्तिकैमा पछाडिको टोली पनि आइपुग्यो । सबै जना त्यहाँको माहोलमा घुलमिल हुन व्यस्त थिए । यता भान्साको काम चलिरहेकै थियो । खाना पाक्यो । सबै जना खाना खायौ । एकछिन भान्सामा गफिदै थियौ । हिउँ पर्न सुरु भयो । बाहिर हिउँ पर्दै थियो । साथीहरु हिउँमा लाईट बालेर फोटो र भिडियोहरु खिचिरहनुभएको थियो । कोही संगितको धुनमा डुबिरहनुभएको थियो । हामी भने केही साथीहरु नाचनानको रमाइलोमा मस्त थियौ । हास्न मै व्यस्त थियौ ।
असोज ८ यो यात्राको पाँचौ अर्थात सबैभन्दा महत्वपूर्ण दिन थियो । जुन गन्तव्यको लागि हामीले यात्रा तय गरेका थियौ, त्यही गन्तव्यमा पुग्ने दिन थियो । बिहान उठ्दा चादी झै टल्कने हिमाल देख्न पाइयोस भन्ने चाहा थियो । कुहिरोसँग मस्किदै, हावाको झोक्कासँग ठोक्किदै, प्रकृतिको सुन्दरतामा पोखिदै रुपौलीसम्मको सफरको रहर थियो । बिहानीमा आखा मिच्दै टेन्ट खोलेर हेर्दा आफ्नै अगाडि हिउँको थुप्रो थियो ।


हिमाल कुन, पाटन कुन छुट्याउन मुस्किल भयो । हिउँसँग रमाउदा रमाउदै पनि मनमा रुपौली पुग्न नपाइने हो की भन्ने कुराले सबैलाई चसक्क त भएकै थियो । हिउँ निरन्तर परिरहेकै थियो । देवा दाई भन्नुहुन्थ्यो, “१२ बजेसम्म कुरौ, त्यतीबेलासम्म मौसम खुल्यो भने रुपौलीको लागि निस्किउला नत्र पेदीको लागि फर्कनुपर्छ ।” यसो सुन्दा त राम यत्रो दुख गरेर आएको यो हिउँले के गर्यो यस्तो भन्ने लाग्यो र पनि हामी मौसम खुल्ने प्रतिक्षामा बसिरह्यौ । केही समयपछी मौसम खुल्छ खुल्दैन थाहा छैन् । म हिउँसँग मुर्मुरिएरै बसेको थिए । कार्तिकतिर परेको भए के बिग्रन्थ्यो ? यत्रो दुख गरेर हामी आको बेलामा सबै छोपेर बस्नुपर्ने ? रिस उठ्ने…..

रुपौली नै नपुगेपनि केही माथी त जाउ भनेर सबैजना उकालो चढ्यौ । जती उकालो चढ्यौ त्यसपछी त उति सुन्दर दृश्यहरु देखिए । हिमाल हेर्दै जलाकीहरु पनि उभिएका थिए । थाहाँ छैन, ती जलाकीलाई कतिले आफ्नो मनको कुराहरु सुनाए । मैले पनि जलाकीलाई मनको कुरा बिसाए । हेरौ जलाकीलाई बिसाएको बिन्ती उसले कतिको पुरा गर्दछ ।

हिउँ छिचोल्दै अगाडि बढ्दा हिमाल आरोहन गरे झै महसुस भयो । कती चुचुराको नजिकै पुग्यौ । कती चुचुरा मैसँग बराबर थिए त कती चुचुरा आफु भन्दा धेरै तल थिए । आफुभन्दा अग्ला चुचुरा देख्दा यात्रा अझै बाकी छ झै लाउथ्यो । आफुसँगै बराबर रहेका चुचुरा देख्दा मनमा सकुन मिल्थ्यो भने आफुभन्दा पनि तल केही चुचुराहरु देख्दा गन्तव्यमा पुगेर आफु विजयी भएको महसुस हुन्थ्यो । समग्रमा हामी हिड्ने प्रत्येक पाइला र हामी पुग्ने प्रत्येक ठाउँले हाम्रो मनमा केही नयाँ कुराहरु विझारोपन गरेकै हुन्छन् ।


बुकी बेस क्याम्पबाट माथी उक्लिएपछी फोटो र भिडियो खिच्दै जादा हामीले ३ घण्टा बिताएका थियौ । यो अवधिमा ३ वटा तालसँग हाम्रो भेट भएको थियो । ति ३ वटै तालको नामाकारण भएको छैन् भनेर मैकोट निवासी पत्रकार सुरविन्द्र कुमार पुन दाइले भन्नुभएको थियो । रुपौलीमा १४ वटा ताल छन् । तर यसपाली मौसमले हामीलाई ३ वटा भन्दा बढी ताल नहेर भनेर फर्काएको थियो र पनि जती हेरियो, आकाशमा बादल, बादलमुनी कुहिरो, चारतिर हिमाल, त्यही काखमा ताल । मरेपछि कस्तो खालको स्वर्गमा पुगिन्छ मलाई थाहा छैन् । त्यो स्वर्गको मैले अक्षर मात्र देखेको छु । तर मलाई यो ठाउँ स्वर्ग भन्न मन लाग्यो । मलाई थाहा छैन्, हिउँ नपरेको दृश्यमा रुपौलीको रुप कस्तो देखिन्थ्यो । तर मैले अहिले देखेर आएको दृश्यमा सुन्दरताको तुलना कसैसँग गर्न सक्दिन् । रुपौलीको एउटा रुप हेर्न गएको हामी रुपौलीको अनेक रुप हेर्यौ । अझै १ घण्टा हिड्यो भने रुपौली पुग्न सकिन्छ भन्ने कुरा साथीहरुले गर्नुभएको थियो । जती हेर्नुपर्ने थियो त्यो त सम्भवै भएन किनभने फेरी हिउँ पर्न सुरु भएको थियो । अबको जोखिमलाई मध्यनजर गर्दै हामी ५ हजार मिटरको उचाईबाट बुकी बेस क्याम्पमा फर्किएर झरीसँगै पेदी बेस क्याम्पको यात्रा तय गर्यौ ।
त्यस दिनमा पेदीमा बास बसेर अर्को दिन हामी पेल्मा पुग्यौ । पेल्मामा नेपत्थ्यको गितमा उतारिका शब्दहरु
“पेल्माको तिरैतिर,
यमाखार भिरैभिर
भेटै हौला मैकोट शिरैशिर”
भन्ने गितलाई सम्झदै झरीको बिचबाट पेल्मा पुललाई पार गरेका थियौ । पेल्मामा पुग्दा स्याउको पहाड देखेर हामी सबै जना झस्किएका थियौ । त्याहाँ पुग्दा स्याउ खाएर होइन् हामी हेरेरै अघाएका थियौ । त्याहा एक रातको बसाइपछि यात्राको सातौ दिनमा हामी पेल्माबाट विभिन्न गाउँहरु नियाल्दै अघि बढेका थियौ । त्यस बखत बाटोमा आधा दर्जन पुलले हाम्रो यात्रालाई छोट्याएका थिए । जसोतसो डिम्मुरगैरा पुगेपछि पुन: हामी सबैजना गाडिको यात्रा गरेर साझको ९ बजे तकमा पुग्यौ ।
यात्रामा हामीसँगै फर्किएको खुसी
रुपौली जादै गर्दा मयाङमा हराएको कन्चन सरको मोबाइल फर्केर आउदा भेटिन्छकि भन्ने झिनो आस सबैमा थियो । जादा गाउँ मुनिबाट गएका हामी फर्कदा गाउँको माथीबाट फर्किएका थियौ । अन्तिम दिनमा कन्चन सरले सुनाउनुभएको थियो, ” मयाङमा ५/७ वटा घरहरु छन् । अन्तिम पटक आफ्नो चित्त बुझाउनलाई भएपनि सबैजनालाई एक पटक सोध्नुपर्ला कसैले भेट्नुभएको पो छ की । तर मयाङ गाउँको माथी पट्टीको बाटो भएर आउदै गर्दा आफुले ५/७ घरको गाउँ सम्झिएको मयाङलाई विशाल देख्दा झसङ्ग भए । त्यसपछि त मोबाइलको आस मर्यो । एक छिन मयाङको शिरमा मेरो मोबाइल खाने गाउँलाई अन्तिम बिदाइ भनेर एक छिन बसेर नियाले । बाटोमा झरेर रुपौली जादा खाजा खाएको ठाउँमा चित्त बुझाउनलाई भएपनि एक पटक खोज्नुपर्यो भन्ने सोचका साथ मोबाइल खोज्दा त्यही ठाउँमा मोबाइल भेटियो ।” त्यो मोबाइल भेटिदा सबै जना खुसी भएका थियौ । उसै दिन सरको जन्मदिन पनि रहेछ । तर त्यो कुरा मलाई चाही रुकुमकोट फर्कदा बाटोमा मात्र थाहा भयो । त्यसैले जन्मदिनको शुभकामना भन्न पाएन ।
यात्राका प्रिय मनहरु

मैले अगाडि पनि उल्लेख गरेको छु । यो यात्रामा जोडिएकाहरु मेरा लागि केहि पुरानै अनुहार हुन भने केही बिल्कुल नयाँ अनुहार । कतिपय पुरानै अनुहार भएपनि यात्रामा भने पहिलो पटक जोडिदै थियौ । हाम्रो ह्यान्डसम देवा दाई र चकलेटी दिलचन भाईले रुकुम पूर्व पनि सुन्दर छ है भनेर चिनाउने योजना सहित बुकी बेस क्याम्पमा टेन्टहरु खडा गरेर बसाइलाई सहज बनाउदै यो यात्राको आयोजना गर्नुभएको थियो । सुरुको दिनमा नयाँ अनुहारसँग मुस्कानले पनि मुख मोडेको थियो । यो एक हप्ते यात्रामा सबै जना आत्मियताको डोरीमा कसक्कै भएका थियौ । यो यात्रामा रुकुमकोटबाट म सँगै जानुभएको दिदि सिर्जना खड्का साथमै हुदा म आफुलाई अली बढी लापरबाही छोड्थे । किनभने सम्हाल्ने उहाँ हुनुहुन्छ भन्ने भावना मनमा आउथ्यो ।
काक्रिमा जादा हनी सरसँग नसोचेको भेट भयो । त्यस अघि मलाई थाहा थिएन उहाँ पनि सँगै यात्रामा जोडिनुहुन्छ । तकमा हामी ३ गते नै पुगिसकेका थियौ । कोडी दिदि सहित कन्चन सरको टोली राती १ बजे र राजु चौधरी बिहान तक पुग्नुभएको थियो । तकबाट मैकोट हुँदै दुले पुग्दा सबै जना एकअर्कासँग भावनाको डोरीमा कसक्कै बाधिएका थियौ । यो यात्राले गुल्मेली बिमल थापा र पोखरेली सुनिल वाग्लेको दोस्तीलाई बलियो बनाएको थियो । यो यात्रामा सबै भन्दा कम फोटो खिच्ने पनि उहाँ २ जना रे । बागलुङका नरेन्द्र र ज्वाला भाइको दोस्तिले म चकित भएको थिए । एकअर्कालाई नभइ पनि नहुने र सँगै हुँदा कुकुर र बिरालाको जस्तो लडाइ पनि देख्न पाइन्थ्यो । त्यो लडाइमा माया भने अथाह हुन्थ्यो । यो दुई जनाको टोलीमा सबैभन्दा बढी मिल्ने भनेकै दिलचन र राजु चौधरी हुनुहुन्थ्यो । कोडी दिदिलाई बास बस्ने ठाउँका दिदिहरु रेडियो नेपाल लाग्थ्यो भने हाम्रो समुहको रेडियो नेपाल नै कोडी दिदि हुनुहुन्थ्यो । दिदिको लागी हनी सरको साथ बलियो थियो । घुमन्ते टिमका सबैभन्दा अनुशासित भाई बन्धन थकाली सबैका प्रिय पात्र हुनुहुन्थ्यो । मैले सधै मायाले बाचा बन्धन भनेर बोलाउने गर्थे । उहाँ मेरो पनि उत्तिकै प्रिय पात्र हुनुहुन्थयो । उहि समुहका अर्का पात्र उमेश सापकोटा, जसको हरेक बिहानी निधारमा टिका, योगा र ध्यानबाट सुरु हुने गर्दथ्यो । सापकोटाको बिहानीले हामीमा पनि सकारात्मक उर्जा पैदा भएको महसुस हुने गरेको थियो ।
यो यात्राको मुख्य आकर्षक र महत्वपूर्ण व्यक्ती हुनुहुन्थ्यो कन्चन राई । यो यात्रा अरुलाई भन्दा फरक कसैलाई लागेको थियो भने उहाँलाई नै हुन सक्छ । यात्राको बिचबिचमा मोबाइलको कुरा लिएर मैले यात्रा अनुभव पनि सोध्ने गर्दथे । त्यस बेलामा उहाँले कहिले निन्द्रा नलागेको कुरा पनि सुनाउनुहुन्थ्यो । उहाँको मोबाइल हराएपछि यात्रामा हामी सबैको मनमा पनि कन्चन सरको यात्रा नरमाइलो त पक्कै भइराको छ होला भन्ने खालको विचार आउने गर्दथ्यो । यसका बाबजुत पनि यात्रामा साथमा साथ, काधमा काध मिलाएर अघि बढिरहनुभएको थियो । उहाँ आफ्नो नाम जस्तै कन्चन लाग्थ्यो मलाई । भद्र, सालिन र सरल । रुकुम पूर्वमा र हाम्रो यात्रामा कन्चन सरको उपस्थितीले महत्वपूर्ण अर्थ राखेको थियो ।
यात्रामा लुम्बिनी प्रदेश सभा सदस्य दिलु बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा, कार्यपालिका सदस्य मल्ती पुन, १ नम्बर वडा सदस्य बिक्रम पुन लगाएत अन्य मैकोटी दिदिहरुको पनि उपस्थिती रहेको थियो । उहाँहरुले पदिय जिम्मेवारी अनुसार सबैजनासँग कुनै दुरी राख्नुभएको थिएन र त यात्रा थप सहज बनेको थियो । मैले संबोधनमा दिदि भन्थे । उहाँहरु भन्हुन्थ्यो, नाना भन्नुस । हामी मायाले कान्छी भन्छु । यो कुरा पनि मैले सहजै स्विकारेको थिए । सम्झी सम्झी भएपनि नाना भन्थे । यो पनि एउटा छुट्टै खालको भावनातम्क सम्बन्ध थियो । हाम्रो साथमा मैकोटकै पत्रकार आदरणिय दाइ शान्त स्वभाव र लेखन कलामा निपुन सुरविन्द्र कुमार पुन हुनुहुन्थ्यो । अर्का मैकोटकै मिर्जा पुन जसलाई हेरेर चिसो पनि कापिरहेको जस्तो लाउथ्यो मलाई । यात्रामा घमराज शेर्पाली र सन्तोष बुढा क्षेत्रीको दोस्ती पनि फरक तरिकाले जमेको थियो । सहयोगी मनका धनी हामी सबैको प्यारो भाई विशाल र साङको साथ हामीलाई दरिलो थियो ।
आठौ दिनमा तकसेरामा रुपौली यात्रालाई औपचारिक रुपमा बिट मारिएको थियो । जहाँ आयोजकले यात्रामा सहभागी सबै जनालाई सबैको प्यारो नरेन्द्र भाइले आर्ट गरेको कोशेली यात्राको प्रतिकको रुपमा दिएको थियो । यससँगै हाम्रो यो यात्रामा पूर्णबिराम लाग्यो । एक साता अघि हामी सबैको एउटै गन्तव्य थियो । त्यस दिन सबै जनाका आ-आफ्ना गन्तव्य थिए । त्यसपछि सबै जना आफ्नो गन्तव्यतिर लाग्यौ । मन भने बेलाबेलामा पाटनहरुमा, तिनै साथीसंगीहरुसँग रमाउन र हराउन पुग्ने गर्दथ्यो ।

निष्कर्ष,
यो यात्रामा मलाई रुकुम पूर्व एउटा पढेरै नसकिने किताब जस्तै लाग्यो । अर्को कूनै किताबसँग यो किताबको तुलना हुन्थ्यो भने, यो किताबको नाम गातामा ठुलो अक्षरमा “रुकुम पूर्व” लेखिएको हुने थियो । उ किताबमा पानाहरु हुने थिए । यो किताबका पानाहरु पाइलाहरु हुन् । उ किताबमा बगैचाँ लेखिएको हुने थियो । यो किताबमा रङ्गिबिरशङ्गी फुलहरु छन् । उ किताबामा चित्रहरु लेखिएको हुने थियो । यो किताबमा पाटनमा खोला र झरनाहरुले सुन्दर आकृतिहरु बनाएका छन् । उ किताबको ज्ञान सुन्ने हो । यो किताबको ज्ञान अनुभव गर्ने हो । त्यसैले रुकुम पूर्व सुन्दरता र मनोरन्जनको मात्र नभइ अध्ययन र सिकाईको गतिलो थलो हो । थाहा छैन मैले पनि रुपौलीलाई कती पढ्न सके र उसको पहिचानलाई न्याय दिन सके । अनी सँगै यात्राका सहयात्रीलाई पनि ।
मात्र १ घण्टाले अधुरो बनेको यो रुपौली यात्रा पुरा गर्न अब सायदै वर्षदिन लाग्ने छ…..

