रुकुम पूर्व
रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी कर्मचारीहरूलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ।
रुकुम पूर्वमा आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो।
जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक प्रतिफल जनताको घरदैलोमा पुर्याउने मुख्य जिम्मेवारी कर्मचारी प्रशासनको रहेको उल्लेख गर्नुभयो। “जनताले राज्यको उपस्थिति महसुस गर्ने भनेकै कर्मचारीको व्यवहार र सेवा प्रवाहबाट हो,” उहाँले भन्नुभयो, “तपाईंहरूले झन्झटमुक्त र सुशासनयुक्त सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्नुहोला।”
सो अवसरमा उहाँले रुकुम पूर्वको विकास निर्माण, शान्ति सुरक्षा र चालू आयोजनाहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो। दुर्गम क्षेत्रका जनताको समस्यालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो। प्रमुख जिल्ला अधिकारी सीता परियार लगायत छलफलमा सहभागी कार्यालय प्रमुखहरूले जिल्लाको वस्तुस्थिति, जनशक्ति अभाव र सम्पादन भइरहेका कार्यका बारेमा संयोजक प्रचण्डलाई ब्रिफिङ गरेका थिए।
छलफल पश्चात् संयोजक प्रचण्डले कार्यालय प्रमुखहरूसँग सामूहिक फोटो सेसनमा सहभागी हुनुभएको थियो। सो क्रममा उहाँले कर्मचारीहरूसँग संक्षिप्त व्यक्तिगत भलाकुसारी समेत गर्नुभएको थियो।
कार्यक्रममा जिल्लाका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष प्रचण्ड रुकुम पूर्वको विभिन्न राजनीतिक एवं सार्वजनिक कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएको हो।

