रोल्पा जिप दुर्घटना भएको १९ घण्टा बितिसक्दा पनि मृतकको पहिचान र शव संकलन हुन सकेको छैन । रुकुम पुर्वको सिस्ने गाउँपालिका -५ रुकुमकोटबाट पुजाको लागि रोल्पा जलजलाको लागि गएको लु १ ज ४१६७ नम्बरको जिप जिल्लाको थवाङ गाउँपालिका–१, जलजलामा बिहिवार दिउसो २:३० बजे दुर्घटना हुदा २० जनाको ज्यान गएको छ ।
मृतकको उद्धारकार्य बिहीवारबाट थलिएपनी घटनास्थल अत्यन्त भिरालो र विकट भएकाले उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक रहेका छन् । दुर्घटनामा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते हुनुभएको छ । उहालाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी वीरेन्द्रबिर विश्वकर्माका अनुसार भौगोलिक रूपमा विकट, भिरालो र खोँचयुक्त क्षेत्र भएकाले शव संकलनमा समस्या भएको हो । हिजो वर्षा र रात परेपछि उद्धार कार्य स्थगित गरिएको थियो भने आज बिहानदेखि पुनः खोज तथा उद्धार कार्य सुरु गरिएको छ ।
हालसम्म ७ वटा शव मात्रै घटनास्थलबाट संकलन गरिएको छ । अन्य शवहरू अझै पनि खोल्सामा रहेको र सुरक्षित रूपमा निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरू भने अझै घटनास्थल पुग्न नसकेको बताइएको छ ।
सबै शव संकलन भएपछि पहिचान प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने तयारी भइरहेको छ । यसैबीच, सरकारले दुर्घटनाको कारणबारे छानविन गर्न समिति गठन गरेको छ ।

