रोल्पा दुर्घटनाको शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम समापन गरिएको छ ।
पुर्व प्रधानमन्त्री, नेकपाका संयोजक एवं रुकुम पुर्वका प्रतिनिधि सभाका सदस्य पुष्प कमल दाहाल प्रचण्डको उपस्थितिमा बिहिबारबाट रुकुमकोटमा बैठक जारी रहेकै अवस्थामा थवाङ जलजला जीप दुर्घटनामा परी ज्यान गुमाउनु हुने नागरिकहरूको शोकको यो घडीमा नियमित बैठकलाई श्रद्धाञ्जली बैठकमा रुपान्तरण गरिएको छ।
बैठकले शोक प्रस्ताव पारित गरेको छ। अन्तमा रुकुम पूर्वको जनप्रतिनिधिको हैसियतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्ड ले श्रद्धाञ्जली मन्तव्य दिनुभएपश्चात् कार्यक्रम समापन गरिएको छ।
बैठकको प्रारम्भमा दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुख व्यक्त गर्दै एक मिनेट मौन धारण गरिएको थियो । त्यसलगत्तै, बैठकले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको थियो ।
रुकुम पुर्वबाट रोल्पाको जलजला जाँदै गरेको जिप बिहिवार रोल्पामा दुर्घटना हुदा २० जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु रुकुम पुर्व, दाङ र सल्यानका छन् । मौसम प्रतिकुलता र भौगोलिक जटिलताले मृतकको उद्धार कार्यमा आएको कठिनाई मध्यनजर गर्दै घटना लगत्तै नियमित रुपमा सरकारको नेतृत्व गरेको पार्टि सभापति, शैनिक मुख्यालयसँग निरन्तर रुपमा समन्वय गरेको बताउनुभएको थियो ।
उहाले भन्नुभयो, “हाम्रै क्षेत्रका नागरिकहरूले अकालमा ज्यान गुमाउनुपरेको यो घडी निकै पीडादायी छ। यस्तो विपद् र शोकको समयमा राजनीतिक कार्यक्रमलाई निरन्तरता दिनु उपयुक्त नहुने भएकाले आजको बैठक स्थगित गरिएको छ।”
शोक प्रस्ताव पारित र प्रचण्डको श्रद्धाञ्जली मन्तव्यपछि प्रशिक्षणका लागि भेला भएका कार्यकर्ताहरूले समेत गहिरो दुःख व्यक्त गर्दै आजको बैठक समापन गरिएको छ। यो घटनाले प्रचण्डका रुकुम पुर्व र रोल्पामा पुर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरिएका छन ।

