लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बिरबहादुर राणाले कृषिलाई बढवा दिन सिंचाईलाई सुधार गर्दै गएको बताउनुभएको छ । सोमबार जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महतमा निर्माण गरिएको नमुना सिंचाइ योजनाको उद्धघाटन गर्दै मन्त्रि राणाले कृषिको क्षेत्र विस्तार र उत्पादनलाई बढवा दिन सिंचाई क्षेत्रमा सुधार गर्दै लगेको बताउनुभएको हो ।

यस सिंचाई योजनाबाट महतका नागरिकहरुको जिवनशैली फेरिनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । नेपाल कृषि प्रधान देश भएपनि यसलाई आधुनीकिकरण गर्न नसक्दा उपलब्धि हासिल गर्न नसकेको भनाई उहाँको थियो । “कृषिको आधार, सिंचाईमा सुधार” भन्ने नारालाई अघि सारेर सिमित स्रोतसाधनबाट अधिकतम रुपमा नागरिकसँग जोडिने प्रयास गरिरहेको सिंचाई मन्त्रि राणाले बताउनुभयो । संघियता कार्यान्वयनपछि गाउँतीर विकास फर्केको र गाउँका मानिस भने शहरतीर ढल्केको बताउदै मन्त्रि राणाले कृषिबाट गाउँ हराभरा बनाउन र यसैबाट आत्मनिर्भर बन्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

“राज्यले कृषि तथा सिंचाईको क्षेत्रमा ठुलो मात्रामा लगानी गरेको छ”, मन्त्रि राणाले भन्नुभयो, “लगानीअनुसारको प्रतीफल आएन भने लगानीको कुनै अर्थ हुदैन् ।” महतमा सिंचाइको सुविधा पुगेको छ । अब कृषिलाई व्यावसायिक रुपमा अघि बढाउन र यसबाट किसानहरु आत्मनिर्भर बन्नुपर्ने भनाई उहाँको थियो । यसमा आवश्यक समन्वय, सहयोगको लागि तीनै तहका सरकारहरु प्रतिबद्ध रहेको मन्त्रि राणाले बताउनुभएको छ ।