रुकुम(पूर्व) को सदरमुकाममा रहेको बसपार्क लामो समयपछि सञ्चालनमा आएको छ । सिस्ने गाउँपालिकास्थित काजिन्दामा रहेको बसपार्कलाई निर्माण भएको करिब दुई वर्षपछि सञ्चालनमा ल्याइएको हो । रुकुमकोटमा बसपार्क निर्माण गरि २०७७ सालको असोजमै औपचरिक उद्धघाटन गरिएको थियो । त्यसयता बसपार्क भने सञ्चालनमा आउन सकेन् ।

बिचबिचमा पटक पटकको छलफल र प्रयासपछि बसपार्कलाई शनिबारबाट सञ्चालनमा ल्याउन सफल भएको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभयो । केहि समय अघि पनि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले साउनको ७ गतेबाट बसपार्क सञ्चालनमा अनिवार्य रुपमा ल्याउने भनेर निर्णय गरिएको थियो । सोहि निर्णयअनुसार शनिबारबाट बसपार्क सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभएको छ । अब भने बसपार्क सञ्चालनमा आएसँगै सडक र बजारमा हुने अस्तव्यस्त पार्कीङ व्यवस्थित हुने उहाँको भनाई छ ।

बसपार्क सञ्चालनमा नआउदा रुकुमकोटको मुख्य बजार क्षेत्र छिप्रीदह, चोकबजार, कमल दह आसपास र सडकको छेउछाउमा जथाभावी गाडी पार्कीङ हुँदै आएका थिए । यहाँका स्थानीय सरकार, प्रशासनको प्रयासमा बसपार्क सञ्चालनमा ल्याउन सफल भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले बताउनुभयो । उहाँकाअनुसार शनिबार काजिन्दामा रहेको बसपार्कमा यातायात व्यवसायीले काउन्टरमा सामान सारिसकेका छन् भने टिक काट्न पनि सुरु भइसकेको छ ।

बसपार्क सञ्चालनमा आएको पहिलो दिनमा सिस्ने यातायात प्रालीमार्फत घोडाघोडीको एउटा बस काठमाडौंको लागि छुटेको थियो । बसपार्कबाट नियमित कामकाज सुरु भइसकेको सिस्ने यातायात प्रालीका इन्चार्ज बबी चन्दले बताउनुभयो । रुकुमकोटमा अहिले सिस्ने यातायात प्राली, पूर्वी रुकुम यातायात प्राली, घोडाघोडी यातायात प्राली र काँक्रि यातायात प्राली रहेका छन् । तीन वटा यातायात प्रालीले बसपार्कमा आफ्नो सामान ओसारिसकेका छन् भने काँक्रि यातायात प्रालीले भने अझै सामान ओसारिनसकेको बताइएको छ ।

बसपार्क सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरु खुसी भएका छन् । अब बजारको विभिन्न ठाउँमा हुदैँ आएको अस्तव्यवस्त पार्कीङ व्यवस्थित हुने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा नागरिकहरुको छ ।