रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा ८ हजार ४ सय स्याउको बिरुवा वितरण गरेको छ । जिल्लाको सबै भन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र पुथाउत्तरगंगामा किसानको मागको आधारमा विरुवा वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख ओमप्रकाश ओलीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार यसअघि बिरुवाको लागि किसानहरुको माग संकलन गरिएको थियो । सोहि मागको आधारमा स्थानीय स्तरबाटै बिरुवा खरिद गरी वितरण गरिएको हो । एउटा व्यक्तिले न्यूनतम १० वटा देखि पाँच सयबोटसम्म लगेका छन् । समुहले भने एक हजारसम्म बिरुवा लगेका छन् । अहिले पनि बिरुवा वितरण भइरहेको कृषि शाखा प्रमुख ओलीले बताउनुभयो । गाउँपालिकाले किसानलाई ११ हजार स्याउको बिरुवा वितरण गर्ने लक्ष राखेको छ ।
पुथाउत्तरगंगामा किसानले व्यावसायिक रुपमै स्याउ खेती गर्दै आइरहेका छन् । गाउँपालिकाको पेल्मा, हुकाम, मयाङ, घुम्लिबाङलगाएतको क्षेत्रमा सबैभन्दा बढी स्याउ उत्पादन हुन्छ । फाटफुट उत्पादन भने गाउँपालिकाको सबै ठाउँमा हुने गरेका छ । पुष १५ बाट माघ १५ सम्म स्याउको बिरुवा लगाउने उपयुक्त समय हो । यस वर्ष अहिलेसम्म वर्षा भइरहेकाले स्याउको बिरुवा वितरणलाई निरन्तरता दिइरहेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय सरकारको स्थापनापछि गाउँपालिका र विभिन्न संघसंस्थाबाट गाउँपालिका क्षेत्रभरीमा ३० हजारको हारहारीमा स्याउको बिरुवा वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख ओलीले बताउनुभएको छ ।