लेखक, पत्रकार एवम् अनुवादक मोहन मैनालीद्वारा अनूदित पुस्तक ‘आकाशमुखी’ लोकार्पण भएको छ । काठमाडौँमा आयोजित समारोहमा अध्येताद्वय हरि शर्मा र सगुना शाहका साथमा मोहन मैनालीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

पुस्तकको टिप्पणी गर्दै हरि शर्माले भन्नुभयोे, “मोहनजीद्वारा छनौट भएका निबन्ध र तिनको अनुवाद, अनुवाद लाग्दैन; लाग्छ यो मौलिक पुस्तक हो । पुस्तकमा छानिएका निबन्धले पश्चिमा समाजको जीवन र समाज परिवर्तन कथा बुनिरहँदा तिनले हामीलाई सफलताका निम्ति अनन्त यात्राको प्रेरणा दिन्छन् । यो नै आकाशमुखीको सफलता हो ।”

साथै शर्माले यो पुस्तक आफ्ना सन्तानलाई पढ्न सबैले सिफारिस गर्नुपर्ने बताउँदै यस्तो किताब विद्यालयको कोर्समा होस् भन्ने आफुले चाहेको बताउनुभयो ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी राख्नेक्रममा सगुना शाहले भन्नुभयो, “नारी शिक्षा, समानता, स्वतन्त्रताका लागि पश्चिमा समाजले कसरी संघर्ष गरेको थियो र हाम्रो समाजको सबै वर्गको चेतनाका निम्ति यो पुस्तक प्रेरक हुन सक्छ, मन्तव्यको क्रममै उहाँले भन्नुभयो, “के हामी आजको समयमा आइपुग्दा पनि आकाशमुखी हुन सकेका छौँ त ?”

वक्ताद्धोयले पुस्तक नेपाली साहित्यका निम्ति उम्दा खुराक रहेको बताउनुभयो । पुस्तकका निबन्ध छनौट र अनुवादबारे मोहन मैनालीले आफ्ना विचार राख्नुभएको थियो । उहाँले भन्नुभयो, “जब अफ्ठेरो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नतिजा पक्कै पनि विश्वसनीय हुन्छ ! यो कोरोनाकालको सन्तान हो ।” बुकहिलले प्रकाशन गरेको १६० पृष्ठको पेपरब्याक संस्करणको मूल्य ३३३ रुपैयाँ राखिएको छ ।