रुकुम (पूर्व) मा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ रानीकोटमा ट्याक्टरले ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । रानीकोटमा रा १ त १५६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा सिस्ने गाउँपालिका वडा नम्बर ५ सिलाका ४५ वर्षका प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सुचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र बानीयाँले जानकारी दिनुभएको छ ।

रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउन लागेको ट्याक्टर अगाडि पछाडी बनाउने क्रममा ब्रेक नलाग्दा अनियन्त्रित भएर पल्टिदा अगाडी उभिएको मान्छेलाई किचेको सुचना अधिकारी बाँनीयाले बताउनुभयो । उहाँकाअनुसार मान्छे किचेर ट्याक्टर सडकभन्दा धेरै तल गएको छ । ट्याक्टरले किचेर गम्भिर घाइते भएका परियारलाई उपचारको लागि रुकुम (पूर्व) अस्पतालमा ल्याएपछि अस्पताले मृत घोषणा गरेको थियो ।

परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आउनुभएको थियो । ट्याक्टरले ठक्कर दिदा परियारकी पत्नी ४३ वर्षिया सिता परियारलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक बाँनीयाले बताउनुभयो । चालकलाई नियन्त्रणमा लीइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मंगलबार मात्रै कराल बगरमा ट्याक्टर पल्टिदा एक जनाको ज्यान गएको थियो ।