“पदयात्रा“ कसलाई मन नपर्ला र ? जस्तोसुकै कठिन किन नहोस, यात्रीलाई गन्तव्यमा पुग्न पद र यात्रा चाहिन्छ । त्यस्तै कठिन पदयात्राबाट त हो यात्रीले गन्तव्यको सुन्दरतालाई नियाल्ने र मन्त्रमुग्ध हुने । पदयात्रीले प्रकृतीलाई गर्ने माया र पदयात्रीलाई प्रकृतीले गर्ने स्वागतको त बयान गरी साध्य छैन् । पदयात्री र प्रकृती नङ र मासु जस्तै एक अर्काका परिपूरक हुन् । जुनै पनि कामको कुनै न कुनै उदेश्य हुन्छ । जसैगरी यात्राको पनि उदेश्य हुन्छ र भर्खरै मात्र एउटा उदेश्यसहितको यात्रा पुरा भएको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा “तीन दिने ढोरपाटन बुकी पदयात्रा” को समापन भएको छ । GIFT DHORPATAN ( Green Identity For Tomorrow) भविष्यको लागि हरित पहिचान भन्ने संस्थाले “जलवायु परिवर्तनको लागि विश्वव्यापी एकता” भन्ने नारासहित आयोजना गरेको तिन दिने ढोरपाटन बुकी पदयात्रा सकिएको छ । साउन १३ गते ढोरपाटनबाट सुरु भएको पदयात्रा १५ गते जल्पाताल हुँदै पून; ढोरपाटनमा आएर सकिएको हो । जलवायु परिवर्तनको कारण हाम्रो पर्यटकिय क्षेत्रहरुमा देखिएको असर र भविष्यमा देखिन सक्ने असरहरुलाई न्यूनिकरण गर्नका लागि महत्पूर्ण सन्देश दिने साथै पर्यटकिय क्षेत्रको प्रचारप्रसारको लागि यो पदयात्राको आयोजना गरिएको GIFT DHORPATAN का अध्यक्ष रमिता पुनले बताउनुभएको छ ।
“३० वर्ष अघि र अहिलेको परिवेशमा ढोरपाटन क्षेत्रमा धेरै खालको परिवर्तनहरु देखिएका छन् ।” अध्यक्ष पुनले भन्नुभयो, “३० वर्ष पछि जादा पनि ढोरपाटनको सौन्दर्यता नबिग्रिएर यस्तै अवस्था कायम रहोस र वातावरणलाई फोहोरबाट मुक्त राख्न सकौ भन्ने हाम्रो उदेश्य हो ।” सोही परिकल्पना अनुसार GIFT DHORPATAN को जन्म भएको उहाँको भनाई छ ।
२०/२५ वर्ष अघिसम्म गुमनाम अवस्थामा रहेको ढोरपाटन क्षेत्र अहिले आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ । स्थानीय एवम् होमस्टे संचालक जिवन पुनका अनुसार पहिलेको समयमा खाली पाखो ढोरपाटन क्षेत्रमा बोबाङ लगाएतका ठाउँका मानिसहरुले बुकी पाटनमा वस्तुभाउ लैजाने र गाउँ झार्ने समयमा ढोरपाटनमा २/३ दिन बास बसाल्ने गर्थे । यसै क्रममा गोठहरु बन्दै जादा आलु र फापरको खेती सुरु भएको इतिहास पाइन्छ । सरकारले २०३९ सालतिर जग्गा नापजापको काम गरेपछि विस्तारै यहाँको बस्ति विकास भएको पाइन्छ । साथै यो ठाउँमा उत्तरगंगा ढोरबराह मन्दिर भएको कारण पनि बागलुङसँगै छिमेकी जिल्लाहरुबाट पुजापाठ गर्न आउनेहरुसँगै ढोरपाटनको नाम बाहिर सुनिन थालेको हो ।
२०७० सालतिर मात्र ढोरपाटनमा गाडी पुगेपछि र सामाजिक संजालको प्रयोगले ढोरपाटनको प्रचारप्रसारसँगै यहाँ पुग्नेहरुको संख्यामा उकालो लागेको पूनले बताउनुभयो । पर्यटकहरुको आगमनसँगै उनिहरुको सहजताको लागि ढोरपाटनमा होमस्टेको विकास गरियो । होमस्टे संचालकसमेत रहनुभएका पूनले अहिले दैनिक आफ्नोमा ३०/३५ जना पाहुना राख्ने र २०/२५ जनालाई दैनिक फर्काउनुपर्ने अवस्था रहेको बताउनुभयो । ह्वात्तै पर्यटकहरुको संख्या बढ्दा होटेल व्यवसायी र होमस्टे संचालकहरुलाई भ्याइनभ्याइ भएको उहाँको भनाई छ । पहिले सामान बोक्न पालिने घोडा अहिले ढोरपाटनको फाटमा फोटो खिच्नको लागि पालिएका छन् । ढोरपाटनमा अहिले ४० बढी घोडा व्यवसायी र ३५ भन्दा बढी होमस्टे र होटेलहरु रहेका छन् ।
ढोरपाटनसम्म आउने पर्यटकहरु बुकी जान थालेको भने २ वर्ष मात्र भएको छ । गएको वर्षमा मात्र ३ हजारको हाराहारीमा पर्यटकहरु बुकीमा भित्रिएका छन् । गएको वर्षको तुलनामा यस वर्ष बुकी जानेहरुको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।
पर्यटकहरुको संख्या बढ्दा यहाँको आयआर्जन बढ्नुका साथै ठाउँको प्रचारप्रसारमा मदत पुगेको छ । तर ढोरपाटन र यहाँको सुन्दरलाई बचाइराख्न चुनौती थपिएको त्यहाँका बुद्धिजिवीहरुले बताएका छन् । मान्छेको बाक्लो उपस्थतीले विभिन्न खालका फोहोरहरु निस्किने र त्यो फोहोरलाई व्यवस्थापन गर्न नसक्दा ढोरपाटनको सुन्दरतामा खोट देखिन्छ की भन्ने कुरा अहिले सबैको चिन्ता र चासोको विषय बन्दै जान थालेको ढोरपाटनका स्थानीय समेत रहनुभएका ढोरपाटन शिकार आरक्षका गेम स्काउट पदम पुनले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “ढोरपाटन क्षेत्रकै बाटोको दायाबाया, खोलाको छेउछाउमा थुप्रो प्लाष्टिकहरु जथाभावी रुपमा फालेको पाउन सकिन्छ । मानिसहरु बुकीतिर आकर्षित हुँदै गर्दा विभिन्न प्रकारका ड्राइ फुडहरु खाएका प्लाष्टिकहरु पाटनमै जथाभावी छोडेर आउने गरेका पाइएको छ । यसले गर्दा भविष्यमा हाम्रो प्रकृतिको सौन्दर्यतामाथी ह्रास आउने कुरामा दुइमत छैन् ।” प्लाष्टिकको कारण तत्काललाई ठाउँ कुरुप देखिन्छ । तर यसको असर भने ३० औं वर्षपछि देखिने गर्दछ । यसकारण प्लाष्टिकजन्य फोहोरबाट दिर्घकालिन रुपमा देखा पर्ने असरहरुलाई न्यूनिकरण गर्नको लागि अहिलेबाटै यहाँका युवाहरुको नेतृत्वमा बनेको GIFT DHORPATAN मार्फत जलवायु परिवर्तनसम्बन्धी सशक्तिकरण र चेतनामुलक कार्यहरुलाई अगाडी बढाउने अठोट गरेको उहाँको भनाई छ ।
आफ्नो ठाउँको सुन्दरतालाई बचाइराख्न आफै जागरुक नभएसम्म केहि नहुने भन्दै ढोरपाटनका युवाहरु संगठित भएर जलवायु परिवर्तनका वरुद्धमा लड्ने योजनाका साथ अगाडी बढेको GIFT DHORPATAN का सचिव प्रशान्त घर्ती मगरले बताउनुभयो । उहाँकाअनुसार जलवायु परिवर्तनकै असर स्वरुप पाटनमा असोजको महिनासम्म फुल्ने बुकी फूलहरु साउनमै डढेका छन् । पहिलेको जस्तो प्रशस्त मात्रामा जडिबुटीहरु पाउन छोडेका छन् । हिमालहरुमा हिउँ अडिन छोडेको छ । यस्तो बेलामा सबै मानिसहरु जलवायु परिवर्तनका विरुद्धमा एकजुट हुन आवश्यक रहेको उहाँले औल्याउनुभएको छ ।
पदयात्रामा जोडिनुभएका रोल्पा थबाङ गाउँपालिका ४ का वडाध्यक्ष हिक्मत घर्तीले सकारात्मक सन्देशसहितको पदयात्रामा पहिलो पटक जोडिएको बताउनुभएको छ । विभिन्न ठाउँको पदयात्रा गरिसक्नुभएका वडाध्यक्ष घर्तीले घुमेर पनि सन्देश दिन सकिने रहेछ भन्ने कुराको अनुभव यो पदयात्राबाट गरेको बताउनुभएको छ ।
पदयात्रामा जोडिन आउनुभएका तनहुका पत्रकार विनोद ढुङ्गानाले यात्रा कठिन भएपनि यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई मोहित पारेको बताउनुभएको छ । रङ्गिबिरङ्गी फूलहरु फुलेको यती ठुलो पाटन जीवनमा पहिलोपटक देखेको र पाइला टेकेको अनुभव उहाँले सुनाउनुभयो । यस्ता पर्यटकिय स्थलहरुलाई व्यवस्थित गर्न सके यस क्षेत्रको भविष्य राम्रो रहेको उहाँको भनाई छ ।
GIFT DHORPATAN ले पदयात्राको क्रममा पदयात्रीहरुमार्फत जलवायु परिवर्तनका विरुद्धमा सबै एकजुट बनौ र प्राकृतिक सौन्दर्यतालाई बचाइराख्न आ–आफ्नो ठाउँबाट लागौ भन्ने सन्देश दिएको छ । पदयात्रामा देशका विभिन्न ११ जिल्लाका पत्रकार, युट्युबर, भ्लगर साथै अन्य गरी ४३ जना सहभागी रहेका थिए ।
यसरी सुरु भएको थियो पदयात्रा
१२ गतेका दिन सबै पदयात्रीहरु बुर्तिबाङ पुगेर सैखोला–बोबाङ–सुकुरदुङ–द्वाल–फल्लेवर–देउराली हुँदै ढोरपाटन पुगेको थियो । ढोरपाटनमा एक रात बासपछि १३ गतेको दिन बिहानै आयोजकले परिचयात्मकसँगै पदयात्रीलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रष्ट बनाउने काम गरेको थियो । पदयात्राको क्रममा आफुले जती प्लाष्टिक लगेर जान्छौ, फर्कदा त्यतीनै प्लाष्टिक लिएर फर्किने प्रतिबद्धताका साथ १३ गते दिउसो ढोरपाटनबाट सुरु भएको थियो हाम्रो खास बुकी पदयात्रा ।
पहिलो दिन ढोरपाटनबाट चेप्टा ढुङ्गा–ठाडो खोला–ढुङ्गे दरेउराली हुँदै ४ हजार मिटरको उचाइमा रहेको गर्पा छेडामा गएर बास बसियो । दोस्रो दिनमा गर्पा छेडाबाट सुरुआत गरिएको यात्रा फुस्रे देउराली–टिकाधारा हुँदै फागुनेको धुरीमा गएर टुङ्गियो भने तेस्रो दिनको यात्रा फागुनेको धुरीबाट ४६ सय मिटरको उचाईलाई छिचोल्दै ४ हजार ४ सय मिटरको उचाईमा रहेको जल्पाताल पुगेर पुन:फागुनेको धुरी झरेर ठुलो मारी–सानो मारी–जौले बिसौना–भूजीखुङ–भुजी–स्यालपाखे हुदैँ ढोरपाटनमा आएर टुङ्गिएको थियो ।

