भोली हुने मनोनयन दर्ताको लागि गणतन्त्रका नायक, नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डʼ आज सोमबार रुकुम पूर्वमा पुग्नुभएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड रुकुम पूर्वमा पुग्नुभएको हो ।
प्रचण्ड भोलि मंगलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौं फर्कने नेपाली कम्युनिष्ट पार्टी रुकुम पुर्वका जिल्ला इन्चार्ज तेज बहादुर ओलिले जानकारिदिनुभएको छ । यो बिचमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट तथा प्रशिक्षण कार्यक्रमको आयोजना पनि गरिने भएको छ । उहाँ आज प्लेनमार्फत काठमाडौंबाट नेपालगञ्ज र नेपालगञ्जबाट रुकुम पश्चिम सल्ले भएर त्याहाबाट गाडिमा रुकुम पुर्व आउनुभएको हो । उहालाई वाइसीएल र विद्यार्थी संगठन परिचालन गरि स्कटिङ गर्दै रुकुम पूर्व पुर्याएको हो ।
जनयुद्धको आधार इलाकालाई प्रचण्डले चुनावी मैदान बनाउदै गर्दा यसलाई सबैले चासोका साथ हेरेका छन् । पूर्व प्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनताहरु उत्साहित रहेको उद्योग बाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताउनुभयो । जनयुद्धको उद्गम थलोको रुपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाई लिने अपेक्षा गरेको उहाँले बताउनुभएको छ ।

