रुकुम पूर्वमा भर्खरै मात्रामा स्थापना भएको जिल्ला हुलाक कार्यालयमा कार्यालय प्रमुखको मनोमानी देखिएको छ । कार्यालयमा थप कर्मचारीको आवश्यकता भएपछी कार्यालय प्रमुख हर्क बहादुर शाहीले नियम विपरित गएर परिक्षा नै नगराई चार जना कर्मचारीलाई काममा लगाउनुभएको छ ।
जिल्ला हुलाक कार्यालयमा करार कर्मचारी भर्ना गर्नको लागि पहिले १५ दिने सूचना निकालेर परिक्षा गराएर मात्र कर्मचारी छनोट गर्नुपर्दछ । तर जिल्ला हुलाक कार्यालयमा त्यसो नगरेर मनपरी रुपमा ४ जना कर्मचारीलाई असोजको ८ गतेबाटै काममा लगाइएको एक स्रोतबाट जानकारी प्राप्त भएको छ । जसमा ३ जना हल्कारा र १ जना सहयोगी भनेर राखिएको छ । प्रशासनिक कुराले गर्दा उनिहरुको भर्ना र हाजिरी नभएपनि उनिहरुलाई नै नियुक्ती गर्ने उदेश्येका साथ काममा खटाइएको छ ।
ती ४ जना कर्मचारीहरु पनि अफिसको ड्रेस लगाएर बिहान १० बजे देखी ५ बजेसम्म अफिसको काम गरेर फर्कने गरेका छन् ।
जिल्ला हुलाक कार्यालयका प्रमुख शाहीले भने जिल्ला हुलाक कार्यालयमा खासमा ६ जना कर्मचारी आवश्यकता रहेको तर अहिले ४ जनालाई हुलाक सेवा विभाग काठमाडौबाटै सहमती लिएर कामका लगाएको बताउनुभएको छ ।
रुकुम जिल्ला टुक्रिएर पूर्व र पश्चिम भइसकेपछी यस जिल्लामा लामो समयसम्म पनि जिल्ला हुलाक कार्यालय स्थापना हुन सकेको थिएन् । गएको भदौ १२ मा मात्रै रुकुम पूर्वले जिल्ला हुलाक कार्यालयको मान्यता पाएको थियो । यहि असोज ७ गतेबाट अफिस स्थापना गरी काम सुरु गरेपनि कार्यालयको औपचारिक उद्धघाटन भने गरिएको छैन् ।