
रुकुम पूर्वमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा महिलातर्फ पुथा उत्तरगंगा गाउँपालिका विजयी भएको छ । रुकुमकोटमा आज भएको फाइनल खेलमा भूमे गाउँपालिकाको टिम ए लाई २-० को सोझो सेटमा हराउदै पुथा उत्तरगंगा गाउँपालिका विजयी भएको हो ।
भूमे गाउँपालिकाको टिम ए दोस्रो हुँदा सिस्ने गाउँपालिकाको टिम ए ले तृतीय स्थान हासिल गरेको छ । पुथा उत्तरगंगा गाउँपालिका कर्मचारी टिमकी सविना पुन मगरले उत्कृष्ट खेलाडीको ट्रफी पाउनुभएको छ । महिलातर्फको भलिबल प्रतियोगितामा सिस्ने र भूमे गाउँपालिकाका २/२ र पुथा उत्तरगंगा गाउँपालिकाबाट १ गरी ५ टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा सहभागी सबै गाउँपालिकाहरुलाई कदरपत्र प्रदान गरिएको छ ।