रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ३ मा वाल्फेर ट्रष्ट नेपालद्धारा खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । ट्रष्टले उत्थानशिल खानेपानी सरसफाइ तथा विपद तयारी कार्यक्रम अन्तर्गत रहेर भूमे ३ मा खानेपानी आयोजना निर्माणको काम गरिरहेको छ । वडा नम्बर ३ को थामै गाउँमा आयोजना निर्माणको काम सम्पन्न गरेर पनि २४ घरधुरीमा एक घर एक धाराको खानेपानी पुर्याइसकिएको छ ।

थामै गाउँमा १४ लाख २५ हजारको लागतमा खानेपानी आयोजना निर्माणको काम सम्पन्न भएको वाल्फेर ट्रष्ट नेपाल, उत्थानशिल खानेपानी सरसफाइ तथा विपद तयारी कार्यक्रम पश्चिम क्षेत्रीय कार्यालय पोखराका सामाजिक शाखा प्रमुख पीताम्बर थापामगरले जानकारी दिनुभयो । उहाँकाअनुसार थामै गाउँमा २४ घरधुरीमा २४ वटा धारा निर्माण गरिएको छ । धाराबाट पानी झर्नसमेत सुरु भइसकेको छ । यो योजनाले घरघरमा खानेपानीको धारा पुगेपछि थामै गाउँबासी खुसी भएका छन् ।

अन्य दुई वटा योजनाको काम भने जारी छ । भूमे ३ कै क्याङ्सी र तुङबाङमा पनी खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । क्षेत्रीय कार्यालय पोखराका सामाजिक शाखा प्रमुख थापामगरका अनुसार क्याङ्सीमा ३६ लाख ८८ हजार पाँच सय ३१ रुपैयाँको लागतमा ७४ घरधुरीमा ७५ वटा धारा निर्माण हुने छन् । तुङबाङ गाउँमा २३ लाख १४ हजार २ सयको लागतमा ५० घरमा ५० धारा निर्माण हुने थापामगरले बताउनुभयो ।

उहाँकाअनुसार ट्रष्टले आगामी वर्षमा लाबाङ, खाबाङ, धर्मशाला, सिमा, गोठबाङ र झुम्लाबाङमा ६ वटा खानेपानी योजना निर्माणको काम गर्ने छ । उसले गाउँपालिकाले छनोट गरेर दिएको योजनामा काम गर्दै आएको छ । उसले गाउँपालिकाको विभिन्न क्षेत्रमा ६ वर्षसम्म काम गर्ने छ । अहिले उसको यो दोस्रो वर्ष हो । सुरुको वर्षमा ट्रष्टले गुनाममा फाइल्टिङ्ग फेसको काम गरेको थियो । बाकी पाँच वर्ष भने उसको प्रोजेक्ट फेसको काम हो । यस ट्रष्टमार्फत निर्माण गरिएको खानेपानी योजनाले भूमेका धेरै मानिसले लाभ लिने छन् ।

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले वाल्फेर ट्रष्ट नेपालले गरेको कामको प्रशंसा गर्नुभएको छ । ट्रष्टले स्थानीय सरकारले देखेको सपनालाई सघाउ पुग्ने गरी हातेमालो गरेको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।