नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डʼ जनयुद्धको आधार इलाका रुकुम पूर्वबाट चुनाव लड्दै हुनुहुन्छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि आफ्नो उम्मेद्वारी दर्ता गर्न भनेर हिजो सोमबार नै प्रचण्ड रुकुम पूर्वमा आइसक्नुभएको छ । आज दिउसो ‍ १ बजे प्रचण्डको उम्मेद्वारी दर्ता गर्ने समय रहेको नेपाली कम्यूनिष्ट पार्टी रुकुम पूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभएको छ ।

यस पटकको चुनावमा प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्नुलाई मानिसहरुले आ-आफ्नो तरिकाले विश्लेषण गर्न थालेका छन् । पार्टी संयोजक प्रचण्डले भने जनयुद्धको आधार इलाकालाई सम्झिएर रुकुम पूर्वमा पुगेको बताउनुभएको छ । उहाँ भन्नुहुन्रछ, ” जनयुद्धको आधार इलाकालाई सम्झिएर यो भन्दा अघि रोल्पा आएको थिए । एक पटक रुकुम आउनु नै थियो । यस पटक म रुकुम पूर्वमा आए । ”  विकासले पछि परेको यस जिल्लालाई निकास दिने मुख्य उदेश्य सहित आफ्नो उम्मेद्वारी रुकुम पूर्वबाट रहेको संयोजक दाहालले बताउनुभएको छ ।

जिल्लाका नेताहरुको चाहना बमोजिम आफुले चुनावी मैदान रुकुम पूर्वलाई बनाएको बताउदै अध्यक्ष दाहालले  यहाँ पुग्दा जनतामा पनि उत्तिकै उत्साह देखिएको बताउनुभयो । रुकुम पूर्वबाट चुनाव लड्ने कुरा भइसकेपछि रुकुम पूर्वकै अन्य दलका नेताहरुले पनि काठमाडौंमा भेटेर रुकुम पूर्वमा आउन लाग्नुभएको रहेछ भनेर खुसी व्यक्त गरेको समेत उहाँले सुनाउनुभयो ।  इतिहासको थालनी भएको यस जिल्लाको विकास नै आफ्नो मुख्य प्राथमिकतामा रहेको संयोजक दाहालले बताउनुभएको छ ।

रुकुम पूर्वमा यसपालीको चुनावमा नेपाली कांग्रेसले कुसुम देवी थापा मगर, नेकपा एमालेले लिलामणी गौतम र प्रलोपाले सन्दिप पुनलाई उम्मेद्वार बनाएको छ । जस अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयसँ मनोनयन दर्ताको लागि नेपाली कांग्रेसले २-३ र नेकपा एमाले ३-४ बजेको समय मागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दएको छ ।