नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल “प्रचण्ड” ले रुकुम पूर्वको विकासलाई गति दिनुनै आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभएको छ । आज रुकुम पूर्वमा आफ्नो उम्मेद्वारी दर्तापछि सभालाई संबोधन गर्दै संयोजक दाहालले यस जिल्लाको विकासलाई गति दिनु नै आफ्नो मुख्य प्रथामिकताको विषय रहेको बताउनुभएको छ ।
रुकुम पूर्वका सहिद परिवारको आशिर्वाद सहित आफुले मनोनयन दर्ता गरेको बताउदै संयोजक दाहालले आफु सरकारमा हुँदा सहिद परिवारको लागि काम गरेको र अबको दिनमा पनि सहिदहरुको भावनालाई संबोधन गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सुरुमा जनयुद्धको आधारइलाका रोल्पाबाट चुनाब लडेको स्मरण गर्दै अहिले जनयुद्धकै आधारइलाका अर्को जिल्ला रुकुम पूर्वमा पुगेर यहाँका सहिद परिवार लगाएत सबै नागरिकसँग साक्षात्कार गर्ने अवसर प्रदान भएको भन्दै संयोजक दाहालले खुसी व्यक्त गर्नुभएको छ । अबको समयमा रुकुम, रोल्पाकै जनतासँगको साक्षात्कारमा भ्रष्टाचारको अन्त्यका योजना सहित विकास निर्माणको काम गर्ने उहाँको भनाई छ ।
सभालाई संबोधन गर्दै संयोजक दाहालले रुकुम पूर्वका संडक संजालमा नजोडिएका ठाउँहरुलाई सडक संजालमा जोड्ने प्रतिबद्धता जनाउनुभएको छ । “काक्री-तकसेरा-हुकाम-मैकोट-शहरतारा हुँदै चिनको सिमाना छार्का जोड्ने सडकलाई कालोपत्रे गर्ने र सिस्ने गाउँपालिकाको १ र २ वडालाई सडक संजालमा जोडिने छ ।” उहाँले भन्नुभयो, “विद्युत उत्पादन, जडिबुटी प्रशोधन र भण्डारण, कृषिमा आधुनिकिकरण गर्ने जस्ता योजनाहरुलाई प्राथमिकतका साथ अगाडी सार्ने छु ।” पहिले भन्दा बढी योजनाहरु रुकुम पूर्वमा ल्याउने संकल्प रहेको संयोजक दाहालको भनाई छ ।
सिंगो रुकुमलाई टुक्राउदा आफ्नो मुख्य भूमिका रहेको भन्दै यहाँको विकासको नेतृत्व गर्ने जिम्मा पनि मैले लिनुपर्छ भन्ने कुरालाई मनन् गर्दै यस पटकको चुनावमा आफु रुकुम पूर्वमा पुगेको संयोजक दाहालले बताउनुभएको छ । केही समयपछि आश्वासन नभइ सक्ने कुराहरु मात्र समावेश गरी प्रतबद्धता पत्र लिएर रुकुम पूर्वका जनताको माझमा आउने उहाँले बताउनुभएको छ ।
सभाकै बिचमा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष टोप बहादुर ओली सहित एक दर्जन नेताहरु नेकपामा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्नेहरुमा २०७९ को चुनावमा प्रदेशसभा ख मा स्वतन्त्र उम्मेद्वारी दिनुभएका नरहरी खड्का, नेकपा एमालेका जिल्ला उपसचिव केश कुमारी तुलाचन नेकपामा प्रवेश गर्नुभएको छ । यसैगरी भूमे १ का तारा प्रशाद पुन, पुथा उत्तरगंगा गाउँपालिका १ का अमृतधन पुन, सिस्ने ५ का पूर्ण बहादुर बुढाथोकी, पुथा उत्तरगंगा ९ का रविन्द्र ओली, एस के जंग ओली, कालिबहादुर समाल, पुथा १० का कमल बुढा मगर र सिस्ने ६ का तेज कुमारी मल्ल नेकपामा प्रवेश गर्नुभएको हो । नव प्रवेशी सबैलाई प्रचण्डले फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।
यसै क्रममा आफ्ना कुराहरु राख्दै एमालेबाट नेकपामा प्रवेश गर्नुभएका टोप बहादुर ओलीले देशलाई सहि दिशा दिन सक्ने एक मात्र नेता प्रचण्ड रहेको बताउनुभएको छ । अहिलेको परिस्थितीमा सचेत नागरिकहरुको रोजाइमा नेकपा रहेको बताउदै सबै रुकुम पूर्व बासीमा उहाँले प्रचण्डलाई अत्याधिक मतका साथ विजयी बनाउन अपील गर्नुभएको छ । उहाँले संयोजक दाहाललाई भावी प्रधानमन्त्रीको रुपमा देख्न सकिने सम्भावना रहेको बताउदै यहाँको विकासको लागि दाहाललाई नै यसपाली अत्याधिक मतको साथमा विजयी गराउनुपर्ने धारणा उहाँले राख्नुभएको थियो ।

