नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले रुकुम पूर्वमा सहिद परिवारसँग भेटघाट गर्नुभएको छ ।  रुकुम पूर्वबाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवारको रुपमा आफुलाई उभ्याउनुभएका दाहालले  सिस्ने गाउँपालिका ५ का केहि सहिद परिवारसँग उहाँहरुकै घरमा पुगेर भेटघाट गर्नुभएको हो ।

संयोजक दाहाल जनयुद्धका सहिद सिस्ने गाउँपालिका ५ रुमालबारा स्थित सिता घर्तीको घरमा पुगेर उहाँकी आमा र त्याहाँ वरपरका सहिद परिवारहरुसँग भेटघाट गर्नुभएको हो । भेटघाटको क्रममा सहिद सिताकी आमा सावित्री घर्तीले जनयुद्धका नायक गणतन्त्रका पिता प्रचण्डलाई आफ्नो नजिकै पाउदा र कुराकानी गर्न पाउदा खुसी व्यक्त गर्नुभयो ।“मर्ने ठाउँमा आफ्नो छोराछोरीलाई कसले पो पठाउछ र । नजा छोरी भन्दै थिए । देश परिवर्तनको लागि म मरेर गए पनि म सधै बाचिरहने छु भनेर गइ”, विगतलाई सम्झदै उहाँले सुनाउनुभयो ।देश परिवर्तनका लागि अमर बनेका सहिदहरुको सपना क्रान्तीकै भूमीमा क्रान्तीका नायक आइपुग्दा पुरा हुन्छन् भन्ने आशा लिएको बताउदै जितको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी सिस्ने ५ रुमालबाराकै सहिद बन्दना परियारकी दिदि चेतना दमाइले प्रचण्ड रुकुम पूर्वमा आउदा सहिद परिवारहरुमा नयाँ आशा पलाएको बताउनुभएको छ । सहिद जीवन काजी (चन्द्र बहादुर थापा) की आमा ८६ वर्षकी चन्द्र कुमारी थापाले सहिद परिवारसँग भेटघाट गर्दै गर्दा उहाँहरुमा पलाएको आशालाई मुर्झाउन नदिन अनुरोध गर्नुभएको छ । आफु डाँडामाथीको घाम भइसकेको बताउदै सहिदका सपनाहरु पुरा गर्ने गरेर योजना बनाउन र काम गर्न उहाँले प्रचण्डलाई आग्रह गर्नुभयो ।

सहिद परिवारसँगको भेटमा उहाँले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताउँनुभएको छ ।संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिनुभयो।

घरदैलो अभियानका क्रममा उहाँले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गर्नुभएको छ ।