रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम-पातिहाल्ना खण्ड  अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

लोकमार्ग अबरुद्ध हुँदा सवारी साधनहरु वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौंबाट छुटेका बसहरु फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय  काक्रीबाट प्रहरी निरिक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक उमा शंकर प्रसाद यादवले जानकारी दिनुभएको छ । अहिले पनि निरन्तर रुपमा हिमपात भइरहेको उहाँले बताउनुभयो  ।

फसेका गाडी र यात्रुहरुको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताउनुभएको छ । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो ।

रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरुमा गए रातीदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरुको जनजिवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरु खुसी भएका छन् । आकाशे पानीको भरमा खेती गरिरहेका किसानहरुको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछी पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका ५ का विमल बिसीले बताउनुभएको छ ।