हिउँ पर्दा होस या बुकी फूलहरु फुल्दाको समय होस । यस क्षेत्रमा घुम्न निस्कनुपर्दा सधै र सबैको मुखबाट सुनिने नाम हो, पातिहाल्ना । शनिबार राती रुकुम पूर्वको हिमाली तथा अधिकांस उच्च पहाडी क्षेत्रमा हिमपात भयो । वर्षा र हिमपात हुँदा चिसोले जनजिवन प्रभावित बनेपनि लामो समयपछी भएको वर्षा र हिमपातको कारण सबै खुसी छन् ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा रहेको यस रूकुम पूर्वमा वर्षमा एक÷दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्षको पहिलो हिमपात शनिबार भयो । हिउँ पर्दा काला पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छ भने पुथा हिमाललगायत धौलागिरि रेञ्ज पूरै सेताम्य छ । शनिबार दिउसो सम्म मध्यपहाडी लोकमार्ग पनि हिमपातका कारण अबरुद्ध नै रह्नयो । एकातिर यात्रुहरुको सहजताको लागि लोकमार्गमा हिउँ पन्छाउने काम भइरहेको थियो भने अर्कोतिर हिउँ खेल्न जानेहरुको लर्को लागेको थियो ।

हिउँ परेसँगै आन्तरिक पर्यटकहरू लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेहरूको भीड लाग्ने गर्छ । यस क्षेत्रमा रूकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रूकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न जाने पहाडी आगन क्याम्पका संचालक दिलचन पुनले बताउनुभयो । हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसहरूको जमघटले पातिहाल्नाका होटेलहरुलाई भ्याइनभ्याइ हुने गरेको उहाँले बताउनुभयो । सिमानामा दुई वटा मात्र कटेज छन् । टाढाबाट आएका मानिसहरू बास बस्न खोजेपनि सिमानामा बास बसाल्न सकिने अवस्था नरहेको त्यहाँका होटेल व्यवसायीहरुले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुहरूले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनी आफूहरू समूह बनाएर हिउँ खेल्न जाने गरेको रुकुमकोटका नमिता रेउलेले बताउनुभयो । यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उहाँले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाउनुभयो ।

प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिसहरू थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिबेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताउनुभयो । यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रङ्गीविरङ्गी फूलहरू फुल्दा निकै सुन्दर देखिने उहाँले बताउनुभयो । रूकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाटले मानिसहरूलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका–१ निमिसाङ पुनले बताउनुभयो । पातिहाल्नामा दैनिक रूकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उहाँले बताउनुभयो । कतिपय मानिसहरू एकअर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रूकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।

हिउँ परेको समयमा आन्तरिक पर्यटकहरूको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको छ ।