जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले नागरिकहरुलाई अत्यावश्यक नपरि यात्रा नगर्न अनुरोध गरेको छ । गएरातीदेखी जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेको हुँदा जिल्लाबासीहरुलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाएर यात्रा गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले अहिले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ भने सयौ यात्रुहरु अलपत्र हिउँमा फसेका छन् । यातायात व्यवासायीहरुलाई पनि मौसम पूर्वानुमान गरेर मात्र यातायातका साधन सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले बताउनुभयो । हिउँ खेल्न आउने तथा हिमाल आरोहण र पदयात्रा गर्ने पर्यटकहरुलाई पनि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले रुकुम पूर्व र बागलुङ सिमाना पातिहाल्ना क्षेत्रमा सडक ३ फिट ढाकेको छ । काठमाडौंबाट रुकुम पूर्व सहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरु हिउँमा फसेका छन् । रातिदेखी हिउँमा फस्दा चिसो र भोकले समस्यामा परेको काठमाडौंबाट रुकुम पश्चिचम जान लाग्नुभएका यात्रु किरण शर्माले बताउनुभयो । वरपर पनि होटेल नभएको कारण बसबाट झरेर १ घण्टा पैदल हिडी सिमाना पातिहाल्नामा पुगेर चाउचाउँ बिस्कुट किनेर खाएको बताउनुभयो । सबै यात्रु सिमानामा पुग्न सक्ने स्थिती पनि नभएको उहाँले बताउनुभयो ।
अबरुद्ध सडक सूचारु गर्नको लागि बागलुङका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर रुकुम पूर्वतर्फबाट हिउँ पन्छाउने काम सुरु गरिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारले बताउनुएको छ ।

