रुकुम पूर्वमा हिमपातका कारण चिसोले जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातीदेखी नै भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाको कारण अत्याधिक मात्रामा चिसो बढेको छ । चिसोका कारण नागरिकहरु प्रभावित बनेका हुन् ।

यो यस वर्षको दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको अधिकांस क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र  ४ नम्बर वडाको विभिन्न क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातले चिसो अत्याधिक बढेपछि अहिले मानिसहरु घरभित्रै थुनिएर रहेको पुथा उत्तरगंगा गाउँपालिका १ मैकोटका विकास पुनले बताउनुभयो । “अहिले पनि निरन्तर रुपमा हिमपात भइरहेको छ ।” उहाँले भन्नुभो, “हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घासपात गर्न समस्या भइरहेको छ ।”  चिसोको कारणले गर्दा बालबालिका र ज्येष्ठ नागरिकहरुलाई बढी समस्या हुने गरेको उहाँको भनाई छ ।

लामो समयपछीको अन्तरालमा भएको हिमपातले पत्थरमा परिणत भएका हिमालहरु देखी लिएर डाँडाहरु पनि सेताम्य भएको पुथा उत्तरगंगा गाउँपालिका ५ का वडाध्यक्ष टिकासाइ घर्तीले बताउनुभयो ।  “आकाशे पानीको भरमा खेतिपाती गर्ने किसानहरु पनि हिमपात र वर्षाले निकै खुसी छन् । ” उहाँले भन्नुभयो,  “ हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेहरुको पनि जमात पनि बढेकै छ । ”  तर स्थानीय नागरिकहरुको दैनिकी भने हिमपातको कारण कष्टकर बनेको उहाँको भनाई छ । हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग समेत अबरुद्ध छ । लोकमार्ग अबरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् भने हिउँमा फसेका यात्रुहरुको उद्धार कार्य जारी राखिएको छ ।

काठमाडौंबाट रुकुम पूर्व सहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरु पातिहाल्नामा फसेका छन् । तिन सयको हाराहारीमा अलपत्र परेका यात्रुहरुलाई भने उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बतानुभएको छ । लोकमार्गमा हिउँ बाक्लो जमेको कारण हिउँ पन्छाउन समस्या भइरहेकोले लोकमार्ग भने अबरुद्ध नै रहेको उहाँले बताउनुभयो ।

उच्च हिमपातका कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लाको विभिन्न ठाउँमा हिमपात भइराखेको कारण यात्रा गर्नै परे उच्च सावधानी अपनाउन अनुरोध गरेको छ । साथै यातायात व्यवसायीहरुलाई पनि मौसमको अवस्था बझेर मात्र सवारी साधनहरु सञ्चालनमा ल्याउन भनेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले आज एक सूचना जारी गर्दै हिउँ खेल्न आउने र पैदल यात्रीहरुलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ ।