हिमपातका ‍कारण बुधबारबाट अबरुद्ध मध्यपहाडी लोकमार्ग आजबाट सुचारु भएको छ । भारी हिमपातका कारण बुधबारदेखी अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग हिउँ पन्छाएपछी आजबाट सूचारु भएको हो ।  बुधबार राती र दिनभरी हिमपात भएपछि मध्यपहाडी लोकमार्गमा बाक्लो हिउँ जमेको थियो ।

हिमपातपछि पातिलहाल्ना क्षेत्रमा अलपत्र परेका यात्रुहरुको बुधबार नै उद्धार गरिएको थियो भने हिउँ पन्छाएर आज यातायात सेवा सुचारु गरिएको इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरिक्षक हिमराज विकले जानकारी दिनुभएको छ । उहाँकाअनुसार आज दर्जनभन्दा बढी बस तथा साना गाडीहरुलाई पनि पास गराइएको छ ।

भूमे गाउँपालिकासँगको समन्वयमा जेसिबी लगाएर रुकुम पूर्वले रुकुम पूर्वतर्फको र बागलुङले बागलुङतर्फको हिउँ पन्छाएपछि बाटो खुलेको प्रहरी निरिक्षक विकले बताउनुभयो । लोकमार्गको पातिहाल्ना खण्डमा सावधानी अपनायर यातायातका साधन चलाउन सवारी चालकहरुलाई अनुरोध गरिएको छ ।