नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्व सिस्ने गाउँपालिकाको युवा भेला सम्पन्न भएको छ । आज आइतबार सिस्ने गाउँपालिकाको सभाहल रुकुमकोटमा नेपाली कम्युनिस्ट पार्टीको सिस्ने गाउँपालिका स्तरीय युवा भेला बसेको हो ।

नेकपा प्रति कुप्रचार गर्ने प्रति कडा रुपले प्रतिवाद र प्रतिकार गर्नु पर्ने नेकपाका युवा परिचालन समितिका सहसंयोजक केशव रावलले बताउनुभयो । जनतालाई भ्रम छरेर मत माग्ने कसैलाई पनि छूट नभएको रावलले बताउनुभयो ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा युवाहरुको भूमिकाबारेमा भेला मार्फत प्रशिक्षण कार्यक्रम गरिएको नेकपाका युवा परिचालन समितिका संयोजक सुबोधराज शेर्पालीले बताउनुभयो । अरु पार्टीले आफ्नो एजेन्डा प्रचार गर्नु स्वाभाविक कुरा हो तर नेकपा प्रति गल्त भ्रम छर्ने प्रचार गरेमा नेकपाका युवाले सशक्त रुपले प्रतिवादमा उत्रिनु पर्ने संयोजक शेर्पालीले बताउनुभयो ।

यसैगरी नेकपाका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीले देशलाई कुन रुपले अघि बढाउने भन्नेमा युवाहरुको मुख्य भूमिका हुने गरेको बताउनुभयो । युवाको उर्जाले नै राजनीतिक परिवर्तन हुने भएकोले यो निर्वाचनमा युवाहरुले गणतन्त्र व्यवस्थाका जन्मदाता नेकपाका संयोजक प्रचण्ड र नेकपालाई भारी मतले विजय गराउनमा लाग्नुको अरु विकल्प नरहेको ओलीले बताउनुभयो ।

नेकपाको सिद्धान्त र नीति तथा कार्यक्रम वैज्ञानिक भएकोले युवाहरु थप संगठित भएर वैचारिक रुपले सचेत भइ नेकपाका एजेन्डालाई प्रचारप्रसार गर्न युवालाई नेकपाका मुख्य सचिव गणेशमान पुनले निर्देशन गर्नुभयो । नेकपाको एजेन्डामै गणतन्त्र व्यवस्था आएकोले यस व्यवस्थालाई थप बलियो बनाउनुका लागि नेकपालाई विजय गर्नु पर्ने मुख्य सचिव पुनले बताउनुभयो । जेएनजीले उठाएका मुद्दा विगत देखि नै नेकपाले उठाउँदै आएको उहाँले बताउनुभयो । युवाहरुको मनोभावनालाई कदर गर्ने पार्टी नेकपा रहेको पुनले बताउनुभयो । पुथाउत्तरगंगाको युवा भेला माघ २६ गते तकसेरामा र भूमेको युवा भेला माघ २७ गते खाबाङबगरमा बस्दै छ ।

नेकपा रुकुमपूर्वको निर्वाचन युवा परिचालन समितिका संयोजक सुबोधराज शेर्पालीको अध्यक्षतामा बसेको सिस्ने गाउँपालिकाको युवा भेलामा प्रमुख अतिथि नेकपाका मुख्य सचिव गणेशमान पुनको रहेको थियो भने विशेष अतिथिमा जिल्ला इञ्चार्ज तेजबहादुर ओलीको रहेको थियो । अन्य अतिथिमा जिल्ला संयोजक कुमारी बराल, केन्द्रीय सदस्य मोहनबहादुर केसी, कैलाशकुमार मल्ल, समानुपातिक उम्मेदवार उपेन्द्रलाल कामी, प्रदेश सदस्य जीवन केसी, वाइसिएल जिल्ला इञ्चार्ज मानबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष नामेन्द्र सुनार, अखिल क्रान्तिकारीका जिल्ला सचिव अम्मर खत्री लगायतको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन युवा परिचालन समितिका सहसंयोजक केशव रावलले गर्नु भएको थियो ।