रुकुम पूर्वबाट प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवार बन्नुभएका नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले समाजवादको भ्रूण रुकुम पूर्वबाट रोप्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रुकुम पूर्वले रुकुमकोटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक दाहालले समाजवादको भ्रूण रोप्ने ठाउँ क्रान्तिको आधारइलाका रुकुम पूर्व नै हुन सक्ने बताउनुभएको छ ।
देशमा भएको परिवर्तनको लागि रुकुमको योगदान महत्वपूर्ण रहेको बताउदै संयोजक दाहालले जरुरी पर्यो भने नयाँ समाजवादी आन्दोलनको सुरुआत गर्न नयाँ शक्ती निर्माणको लागि पनि रुकुम पूर्व आफ्नो रोजाइ भएको बताउनुभयो ।“जनयुद्धको आधार इलाकामा विकास निर्माणलाई नयाँ ढंगले गति दिने संकल्प मेरो छ ।” उहाँले भन्नुभयो “यहाँको जनभावनालाई बुझेर यहाँहरुको अपेक्षा अनुसारनै म रुकुम पूर्वमा उम्मेदवार बनेर आएको छु ।” यहाँको सडक संजालको विकास र विस्तार, शिक्षामा परिवर्तन, पर्यटकिय क्षेत्रको विकास, युवा पलायन रोक्ने र बाहिर गएकाहरुलाई पनि फर्काउने गरी कृषिमा विभिन्न खालका ठुला योजनाहरु ल्याउने उहाँको भनाई छ ।
उहाँले थप्नुभयो, “ यो ऐतिहासिक जिल्ला हो । देशमा गणतन्त्र आउन कसैले रोकेर रोकिदैन भन्ने सन्देश दिने बैठक बसेको चुनबाङ र त्यती बेला पार्टीभित्रको अन्तरसंघर्षलाई क्लाइमेक्स दिएको लाबाङ गाउँहरुलाई विश्वले नै चिन्ने गरेको छ । युद्ध पर्यटनलाई पनि विशेष ध्यानमा राखेर समाजवाद मोडेलको रुपमा विकास गर्ने छौ । हामी राजनितिक रुपले हामी समाजवादउन्मुख भयौ । विकासको हिसावले हुन सकेका छैनौ । अब भने यहाँको इतिहास, भुगोल, संस्कृति, जातजाती सबैको जनभावनामा आधारित विकासको मोडेललाई अंगालेर अगाडि बढ्ने छौ ।”
पछिल्लो समयमा आफैले पनि सहिदका सपनाहरु धमिलिएका हुन की भन्ने महसुस गरेर ति सहिद, बेपत्ता परिवार, घाइते, अपाङ्ग सबैको सपना साकारको लागि पनि आफ्नो उम्मेद्वारी रुकुम पूर्वमा रहेको उहाँले बताउनुभयो ।
जेन्जी आन्दोलन पछि देश संकटपूर्ण अवस्थाबाट गज्रिरहेको र जेन्जी आन्दोलनको बेलामा उत्पन्न परिस्थितीलाई सहज बनाउनको लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको समेत उहाँले बताउनुभयो ।

