पुर्व प्रधानमन्त्री, नेकपाका संयोजक एवं रुकुम पुर्वका प्रतिनिधि सभाका सदस्य पुष्प कमल दाहाल प्रचण्डले रोल्पा दुर्घटनामा ज्यान गुमाएकाहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बिहिबारबाट सिस्ने गाउँपालिका-५ रुकुमकोटमा पार्टी जिल्ला समितिको बैठक तथा प्रशिक्षण कार्यक्रम जारी रहेकै अवस्थामा थवाङ जलजला जीप दुर्घटनामा परी ज्यान गुमाउनु हुने नागरिकहरूको शोकको यो घडीमा नियमित बैठकलाई श्रद्धाञ्जली बैठकमा रुपान्तरण गरिएको हो ।
रोल्पा दुर्घटनाको शोक प्रस्ताव पारित गर्दै नेकपा जिल्ला समिती रुकुम पुर्वको नियमित बैठक तथा प्रशिक्षण कार्यक्रम समापन गरिएको छ ।
रुकुम पूर्वको जनप्रतिनिधिको हैसियतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली मन्तव्य राख्दै मौसम प्रतिकुलता र भौगोलिक जटिलताले मृतकको उद्धार कार्यमा आएको कठिनाई मध्यनजर गर्दै घटना लगत्तै नियमित रुपमा सरकारको नेतृत्व गरेको पार्टि सभापति, शैनिक मुख्यालयसँग निरन्तर रुपमा समन्वय गरेको बताउनुभएको थियो ।
उहाले भन्नुभयो, “हाम्रै क्षेत्रका नागरिकहरूले अकालमा ज्यान गुमाउनुपरेको यो घडी निकै पीडादायी छ। यस्तो विपद् र शोकको समयमा राजनीतिक कार्यक्रमलाई निरन्तरता दिनु उपयुक्त नहुने भएकाले यो बैठकलाई यहि समापन गरिएको छ।”
शोक प्रस्ताव पारित र प्रचण्डको श्रद्धाञ्जली मन्तव्यपछि प्रशिक्षणका लागि भेला भएका कार्यकर्ताहरूले समेत गहिरो दुःख व्यक्त गर्दै आजको बैठक समापन गरिएको छ। यो घटनाले प्रचण्डका रुकुम पुर्व र रोल्पामा पुर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरिएका छन ।

