चन्द्र रसाइली
रुकुम (पूर्व) को भूमे गाउँपालिकामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको बजेट बाँडफाँड गरिएको छ । स्थानीय तह छनोट तथा कार्यान्वयन समिति भूमे गाउँपालिकाको बैठकले शैक्षिक सुधार कार्यक्रमको लागि आएको बजेटले कहाँ के कती काम गर्न सकिन्छ भनेर टुङ्गो लगाएको छ ।
मुख्यमन्त्री शैक्षिक कार्यक्रम मार्फत प्रत्येक स्थानीय तहलाई लुम्बिनी प्रदेश सरकारले चालुतर्फ २ लाख ५० हजार र पूँजीगततर्फ ५७ लाख ५० हजार पठाएको थियो । बैठकले प्रविधिमा आधारित शिक्षा प्रवर्धनका लागि विद्यालयहरुलाई ल्यापटप, प्रिन्टर लगायत क्ष्ऋत् सामाग्री खरिदको लामा ७ लाख १८ हजार, विद्यालयका लागि प्रोजेक्टर खरिदमा २ लाख ३२ हजार, आधारभूत विद्यालय धर्मशालामा वाससहितको शौचालयको लागि ७ लाख, मावि लुकुम विद्यालय घेराबारको लागि १६ लाख, आधारभूत विद्यालय झुम्लावाङ खेलमैदान मर्मतमा ५ लाख बजेट बिनियोजन गरिएको छ ।
यस्तै मावि काँक्री खेलमैदान निर्माणमा १५ लाख, आधारभूत विद्यालय रिसालचौर गेट पर्खाल निर्माणमा पाँच लाख बजेट बिनियोजन गरिएको छ । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगर, उपाध्यक्ष मनकुमारी बुढा विष्ट, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, शिक्षा अधिकृत कौशल कुमार तिवारी, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतम, मनोनित सदस्य दिनेश रोका, जानकी देवी रोका लगायतको उपस्थितीमा बैठक बसेको थियो ।