रुकुम (पूर्व) मा एक हजार बढीले कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाएका छन् । अहिलेसम्म जिल्लाका एक हजार ३ सय ९६ जनाले कोरोना विरुद्धको बुस्टर डोज लगाएका हुन् । जिल्लामा माघको १० गतेबाट बुस्टर डोज लगाउन सुरु गरिएको हो । हालसम्मको अवधिमा एक हजार ३ सय ९६ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का सुचना अधिकारी एवम् कोरोना रोग नियन्त्रण फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सिस्ने गाउँपालिकामा सबैभन्दा बढी एक हजार २४ जनाले बुस्टर डोज लगाएका छन् । भूमे गाउँपालिकामा २ सय ८ र पुथाउत्तरगंगा गाउँपालिकामा सबै भन्दा कम एक सय ६४ जनाले बुस्टर डोज लगाएको फोकल पर्सन गिरीले बताउनुभयो । सिस्ने गाउँपालिकामा स्वास्थ्य कार्यालय, भूमे र पुथाउत्तरगंगामा गाउँपालिकाको कार्यालयबाट खोप कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा बुस्टर मात्र नभइ कोभिडको पहिलो र दोस्रो मात्रा लगाउनेहरुको संख्या पनि कम रहेको छ । पुथाउत्तरगंगाका मानिसहरुले खोपमा चासो नदेखाउदा खोप कार्यक्रम समेत प्रभावित बन्न पुगेको फोकल पर्सन गिरीले बताउनुभयो । त्यहाँको गाउँपालिका, सम्बन्धित वडासँग समन्वय गरेर खबर गर्दा पनि मानिसहरु खोप लगाउनको लागि खोप केन्द्रसम्म पुग्न सकेका छैनन् । अहिलेसम्म कुनै खोप नलगाएको बताउदै अब कोरोना बिरुद्धको खोप पनि नलगाउने पुथाउत्तरगंगाका कतीपय नागरिकहरुले बताउदै आएका छन् ।

भूमे र सिस्ने गाउँपालिकामा भने खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । कोभिड १९ बिरुद्धको खोपले मानिसलाई संक्रमण हुनबाट र सक्रमण भइहाले त्यसबाट हुने जोखिमबाट सुरक्षित गर्ने भन्दै छुटेकालाई सम्बन्धित गाउँपालिका तथा स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन आग्रह गरेको छ ।