
रुकुम(पूर्व) मा दुई वटा नयाँ परियोजनाहरु सञ्चालन हुने भएका छन् । जिल्लाको सिस्ने र भूमे यी दुई गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको हो । युनिसेफको आर्थिक तथा रुक्मेली समाज विकास केन्द्र रुकुमको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा यी दुई परियोजनाहरु सञ्चालन हुने भएका छन ।
दुवै गाउँपालिकामा कोभिडको दोस्रो लहरबाट प्रभावित बालबालिकाहरूको लागि समुदायमा आधारित सिकाई सहयोग परियोजना र सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग परियोजना सञ्चालन गर्न लागिएको हो । परियोजनाको सम्झौता पश्चात कार्यान्वयनमा जानू अघि सिस्ने गाउँपालिकामा कोभिड १९ प्रतिकार्यमा शिक्षा र वास कार्यक्रम सम्बन्धि पालिकास्तरिय अभिमुखिकरण कार्यशाला सम्पन्न गरिएको छ ।
अभिमुखिकरण कार्यशालामा रुक्मेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसीले कार्यपत्र प्रस्तुत गर्दै शिक्षातर्फको परियोजनाको अवधि ९ महिना र वास अन्तर्गतको परियोजना अवधी ७ महिना रहेको जानकारी गराउनुभयो । कोभिड १९ लगाएत अन्य विपद र महामारिको कारण शिक्षामा भएको क्षतिलाई न्यूनीकरण तथा सुरक्षीत खानेपानी समुदाय निर्माण गर्ने लक्ष्य यी परियोजनाको भएको जानकारी कार्यकारी निर्देशक केसीले गराउनुभयो ।
उहाकाअनुसार शिक्षातर्फको परियोजनामार्फत टोल शिक्षालाई केन्द्रित गरिएको छ । शिक्षातर्फको परियोजनामार्फत विद्यालयस्तरको प्रतिकार्य योजना निर्माण तथा संसोधन, टोल शिक्षकलाई तलिम, सिकाई सामग्री प्रदान, ल्याप्टोप, प्रीन्टर खरिद, चौमासिक समिक्षा, संयुक्त अनुगमण, वार्षिक समिक्षालगाएतका कार्यक्रमहरु गरिने कुरा कार्यकारी निर्देशक केसीले जानकारी गराउनुभयो । शिक्षातर्फको परियोजनामा दुई करोड २२ लाख ६६ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।
यस्तै वास अन्तर्गतको परियोजनाका क्षेत्रहरु सुरक्षित खानेपानीयुक्त समुदाय र खानेपानी गुणस्तर अनुगमन कार्यविधि, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा, विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (तीन तारे पद्धति) लगाएत रहेका छन् । यस परियोजनाले पालिका स्तरमा खानेपानी गुणस्तर अनुगमन संयन्त्रको स्थापना, सुचारुपन र दिगोपनका लागि सम्झौता पत्रको निर्माण गरिने छ । यस्तै खानेपानी प्रणालीको मर्मत सम्भारका लागि प्राविधिक सहयोग, पानीको गुणस्तर परिक्षण, अनुगमन सम्बन्धि तालिम, शुद्धिकरण प्रणाली स्थापनाको काम गरिने कार्यकारी निर्देशक केसीले जानकारी गराउनुभयो ।
उहाँकाअनुसार सुरक्षित खानेपानीयुक्त समुदाय घोषणामा सहजिकरण, विद्यालयहरुको जोखिम मापन (तीन तारे अवधारणा) मा रही विद्यालयहरुमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धि अभिमूखिकरण, विद्यालयको खानेपानी परिक्षण लगाएतका वास सम्बन्धि क्रियाकलापहरुमा बाल क्लबहरु र विद्यालय व्यवस्थापन समितिको सकृय सहभागितामा सहयोग र सहजिकरणलगाएतका कामकाजहरु गरिने छन् । यसमा ५४ लाख बजेट रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुमारी बरालले गाउँपालिकामा सञ्चालन हुन लागेको नयाँ परियोजनालाई सफल बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण खड्काले परियोजनाको अवधी समाप्त भएपछि त्यसको दिगोपनामा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभएको थियो । गाउँपालिका अध्यक्ष बरालको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्काको प्रमुख आतीथ्यता रहेको थियो ।
कार्यक्रममा रुक्मेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, उद्योग बाणीज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ललगाएतको आतीथ्यथा रहेको थियो । कार्यक्रमको सञ्चालन सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले गर्नुभएको थियो ।