नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् रुकुम(पूर्व) जिल्ला इन्चार्ज तेजबहादुर ओलीले आम कार्यकर्तालाई स्थानीय सरकारले पाँच वर्षको अवधिमा गरेको कामकाजको उपलब्धि लिएर जनता माझमा जान निर्देशन दिनुभएको छ ।

स्थानीय सरकारको चुनाव भएको पाँच वर्ष बित्नै लाग्दा अहिलेसम्म भएका उपलब्धि र गर्न नसकेका कामहरु कारणसहित नागरिकलाई प्रष्ट पार्नको लागि समुदायस्तरमा जान कार्यकर्तालाई ओलीले निर्देशन दिनुभएको हो । यस्तै संघ र प्रदेश सरकारले ४ वर्षको अवधिमा गरेको कामको तथ्याङ्क संकलन गरेर नेता कार्यकर्ता जनताको माझमा जानुपर्ने भनाई उहाँको थियो ।

नेता ओलीले जनवर्गिय संगठन र पार्टीका गतिविधिहरुलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्ला, पालिका र वडामा बैठक बस्नको लागि केन्द्र र प्रदेशकै सर्कुलरको मुख ताकेर बस्न नहुने भनाई उहाँको थियो । आगामी चुनावमा ३ गाउँपालिका र ३१ वटै वडा जित्नेगरी अभियानमा लाग्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आन्तरि रुपमा देखिएका समस्याहरुलाई आ–आफ्नो ठाउँबाट हल गरेर जानुपर्नेमा उहाँले जोड दिनुभएको छ । साथै आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई पनि उहाँले निर्देशन दिनुभएको छ ।