रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर १ मा विपन्न परिवारलाई चामल वितरण गरिएको छ । वडा नम्बर १ का ४ सय ४५ विपन्न घरधुरीलाई चामल वितरण गरिएको हो । सिस्ने १ र पुथाउत्तरगंगा २ मा खाद्यान्न अभावको कारण भोकमरीको अवस्था सिर्जना भएको भन्दै गृह मन्त्रालय विपद व्यवस्थापन समितिले पठाएको ५ सय ४ क्विन्टल चामल लामो समयपछि १ नम्बर वडामा पुर्याएर वितरण गरिएको हो ।
चामल गएको पौषको महिनामै रुकुमकोटमा आएपनि भौगोलिक विकटता र हिमपातको कारण त्यतिबेला सम्बन्धित ठाउँमा ढुवानी हुन नसक्दा अहिले वितरण भएको वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिनुभयो । त्यहाँ घोडा खच्चडमार्फत चामल ढुवानी गरि ४ सय ४५ घरधुरीलाई प्रती परिवार ९० किलोका दरले चामल वितरण गरेको वडाध्यक्ष बुढाले बताउनुभयो । १ नम्बर वडामा घरधुरी संख्या भने ५ सय ४१ छ । ४ सय ४५ घरधुरीलाई वितरण गरेर बचेको चामल अन्य परिवारलाई उनिहरुको अवस्थाअनुसार वितरण गरिएको उहाँको भनाई छ ।
त्यहाँका नागरिकलाई टोलटोलमा पुगे चामल वितरण गरिएको छ । वडाध्यक्ष बुढाकाअनुसार भङ, लाम्पाखा, ओख्रना, पाखापानी र ठुलो सिस्ने लगाएतका टोलमै पुगेर चामल वितरण गरिएको छ । अहिलेसम्म सडक संजालमा नजोडिएको सिस्नेको १ र पुथाउत्तरगंगा गाउँपालिकाको २ नम्बर वडामा हेलिकप्टरमार्फत चामल ढुवानी गर्ने तयारी गरिएपनि ढुवानी महंगो लाग्ने भएपछि घोडा खच्चडमार्फत ढुवानी गरिएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा यी दुई वटा वडामा भोकमरीको समस्या पर्ने देखिएकाले तत्काल खाद्यान्न उपलब्ध गराइदिन गाउँपालिकाले माग गरेका थिए । त्यसैअनुसार विपद व्यवस्थापन समितिले गृहमा खाद्यान्नको माग गरि पठाएअनुसार सिस्नेको १ नम्बर वडामा ५ सय ४ र पुथाउत्तरगंगा गाउँपालिका २ को लागि २ सय ४ क्विन्टल चामल पठाएको थियो । ढुवानीमा समस्या हुदा पौषमा आएको चामल नागरिककहाँ अहिले पुगेको बताइएको छ ।