रुकुम(पूर्व) मा जिल्ला समन्वय समितिको सपथ ग्रहण र पदभार ग्रहणको कार्य सकिएको छ । आज एकै दिन समन्वय समितिको प्रमुख, उपप्रमुख सहित सदस्यहरुको सपथ ग्रहण र पदभार ग्रहणको कार्य सकिएको हो ।
मुख्य निर्वाचन अधिकृृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले समन्वय समिति प्रमुखमा निर्वाचित मेघबहादुर श्रेष्ठलाई सपथ ग्रहण गराउनुभएको हो । प्रमुखले सपथ ग्रहण गरेसँगै उहाँले उपप्रमुख मोहनबहादुर केसीसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । यससँगै उहाँहरुले पदभार ग्रहण गर्नुभएको छ । सिस्ने ६ छिप्रीदहमा रहेको जिल्ला समन्वय समितिको कार्यालययमा निवर्तमान समन्वय प्रमुख र उपप्रमुखले नव निर्वाचित प्रमुख र उपप्रमुखलाई पद हस्तान्त्रण गर्नुभएको हो ।
पदभार ग्रहणको क्रममा प्रमुख श्रेष्ठले सहिदहरुप्रती सम्मान गर्दै श्रद्धाञ्जली अर्पन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । साथै २५ गते अर्थात भोली नव निर्वाचित समन्वय समितिको पहिलो बैठक बसी आवश्यक छलफल गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
रुकुम(पूर्व) मा जिल्ला समन्वय समिति निर्विरोध भएको हो । प्रमुखमा निर्वाचित श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट हुनुहुन्छ भने उपप्रमुखमा निर्वाचित नेकपा एकीकृत समाजवादीबाट हुनुहुन्छ । अन्य सबै सातै जना सदस्य माओवादीबाट हुनुहुन्छ । समन्वय समितिमा निर्विरोध निर्वाचित हुने सदस्यहरुमा महिला सदस्यमा सिस्ने ७ बाट बिन्दु रावल, भूमे ३ बाट विष्णु रोका, पुथा उत्तरगंगा गाउँपालिका १० बाट प्रतिमा पुन, दलित तथा अल्यसंख्यकमा पुथा उत्तरगंगा गाउँपालिका ८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा ३ बाट बलकर्म बुढा, भूमे ७ बाट महिमान रोका र सिस्ने ३ बाट लालजित बुढा हुनुहुन्छ ।
यस जिल्लामा जेठ २४ अर्थात आजकै दिन जिल्ला समन्वय समितिको निर्वाचन मिति तोकिएको थियो । तीन वटा मात्र गाउँपालिका रहेको यस जिल्लामा समन्वय समितिको मत संख्या ६ थियो । जसमा माओवादी केन्द्रका ५ र नेकपा एमालेका एक जना थिए । समन्वय समिति निर्विरोध भएपछि आजै सपथ ग्रहण र पदभार ग्रहण गरिएको हो । यस अघि रुकुम(पूर्व) मा माओवादी केन्द्रबाटै समन्वय प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भिमकुमारी पुन हुनुहुन्थ्यो ।