रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर १ मा किराले मकैबालीमा क्षती पुर्याएको छ । १ नम्बर वडाको अधिकांस क्षेत्रमा किसानले लगाएको मकैबालीमा फौजि किराले क्षती पुर्यापछि किसानहरु मर्कामा परेका छन् । वैशाखको महिनामा छरेको मकै तीन पाते नहुँदै सबै किराले सखाप पारेपछि किसानहरु मर्कामा परेका हुन् ।

बारीमा उम्रिएको र गोडमेलको सुरसार गर्नेबेलामा एउटा पनि बोटै नराखी किराले खाएको पाखापानीका गोपाल बुढाले बताउनुभयो । दुख गरी रोपेको मकै गोडमेलल गर्ने बेलामा सबै किराले खाएपछि दोहोर्याएर फोरी मकै छरेको उहाँको भनाई छ । दोस्रो पटक छरेको मकैमा पनि किराको प्रकोप देखिन थालेपछि किसानहरु समस्यामा परेका छन् । सिस्ने १ को प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिएपछि उत्पादनमा ह्रास आउने भन्दै चिन्ता थपिएको १ नम्बर वडाका वडाध्यक्ष रजबहादुर बुढाले बताउनुभयो ।

वडाको अधिकांस किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएपछि वडाबासीहरु समस्यामा परको उहाँको भनाई छ । वडाध्यक्ष बुढाकाअनुसार पहिलो पटक लगाएको मकै किराले सखाप पारेपछि दास्रो पटक यहाँका किसानले मकै लगाएका थिए । तयसमा पनि किराको प्रकोप देखियो । किराले मकै बालीमा धेरै नै क्षती गर्न थालेपछि अहिले एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) को समन्वयमा जैविक विषादी छरेको वडाध्यक्ष बुढाले बताउनुभयो ।

एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले सिस्ने १ मा किराले मकै बालीमा पुर्याएको क्षतीको जानकारी कार्यालयमा ढिला पुग्दा पनि किराको प्रकोप झन बढेको बताउनुभयो । एक साता अघि मात्र सिस्ने १ मा मकै बालीमा भइरहेको क्षतीको बारेमा जानकारी आएका बताउदै प्रमुख बस्नेतले त्यस लगत्तै त्यहाँ प्राविधिक खटाइएको बताउनुभयो । प्राविधिकको टोलीले स्थलगत अनुगमणपछि जैविक विषादी छर्ने र किसानलाई जैविक विषादी उपलब्ध बनाएर आएको उहाँको भनाई छ ।

अब वर्षा सुरु हुन लागेको र चिस्यान हुने ठाउँमा किराले क्षती नगर्ने पनि उहाँले बताउनुभएको छ ।