रुकुम(पूर्व) को रुकुमकोटमा नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरोकारवाला निकायको भूमीका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय बाल न्याय समितिको सचिवलय पुल्चोक ललितपुरको सहयोगमा रुकुमकोट जिल्ला अदालतले आज सिस्ने गाउँपालिका ६ छिप्रीदहमा नेपालको बाल न्याय प्रणालीलाई सुदृढ बनाउन सरकोरवाला निकायको भूमीका सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा अदालतका श्रेस्तेदार केशव पराजुलीले बाल न्याय र बाल इजलास सञ्चालनः प्रमुख समस्या र समाधानका उपायहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै बाल मनोविज्ञ तीव्र गौतमले बाल न्याय सम्पादनमा समाजसेवी र बाल मनेविज्ञहरुको भूमिका, प्रमुख समस्या र समाधानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने निमित्त जिल्ला न्याधिवक्ता प्रकाश शर्मा पौडेलले बाल न्याय सम्बन्धि अनुसन्ध्धान तथा अभियोजन, प्रमुख समस्या र समाधानका उपायहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आजका बालबालिका भोली देश हाक्ने मान्छे भएको बताउदै उनिहरुको हेरचाह, व्यवहार, आचरणका कुराहरुमा अभिभावकसँगसँगै विद्यालयमा शिक्षक शिक्षिकाहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् । घर नै बालबालिकाको पहिलो पाठशाला भएकाले घरपरिवारबाटै बालकालिकालाई असल आचरणको कुराहरु सिकाउनुपर्ने भनाई वक्ताहरुको थियो । कतीपय बालबालीका जानेर या नजानेर अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको र कतीपय बालबालिकालाई त्यस्ता अपराधिक क्रियाकलापमा प्रयोग गर्ने गरेको पाइएकाले पनि अभिभावकले त्यसतर्फ ध्यान दिन जरुरी रहेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले बाल श्रम, वालविवाह अन्त्यको योजनासहित नीति कार्यक्रम ल्याएको बताउनुभयो । पालिकालाई बालमैत्री बनाउने अभियानका साथ काम गर्ने प्रतिबद्धता पनि अध्यक्ष रेग्मिले जनाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले परिवार सचेत भएमात्र बालबालिकाले आफ्नो हक अधिकार प्रयोग गर्ने पाउने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रबाट धेरै कुराहरु सिकेर सिकेको कुरालाई परिवार, समाजमा सम्प्रेशन गर्न पनि कार्यक्रममा सहभागीलाई आग्रह गर्नुभयो ।

जिल्लामा कहिकतै बालश्रम, शोषण भएको बेबारिसे अवस्थामा फेला परेको पाइएमा पनि तत्काल खबर गर्न आग्रह गर्नुभयो । यस्तै सिस्ने गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक गोपाल रेउलेले न्यायिक कार्यमा सँगै सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।

रुकुमकोट जिल्ला अदालतका न्यायधिश सनतचन्द्र लवटको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख र प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी, निमित्त जिल्ला न्याधिवक्ता प्रकाश शर्मा पौडेल, बाल मनोविज्ञ तीव्र गौतम, रुकुमकोट बारका सचिव किरण गौतम, समाजसेवी सुशिला दाहादलगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न बाल ब्लबका प्रतिनीधि, शिक्षक, संघसंस्थाका प्रतीनिधी, विभिन्न कार्यलयका कर्मचारी, सुरक्षाकर्मी, कानुन व्यवसायीहरुको उपस्थिती रहेको थियो । अदालतका श्रेस्तेदार केशव पराजुलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन ललीत ओलीले गर्नुभएको थियो ।