रुकुम(पूर्व) कै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा रहेको कमल दहमा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा रहेको दहमा ढकमक्क कमलको पूmल फुलेसँगै दह हेर्न आउने आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि भएको हो ।

जेठको अन्तिम सातादेखी नै दहमा कमलको फूल ढकमक्क फूलेका छन् । विगतका वर्षहरुमा अलि ढिला अर्थात असारको तेस्रो साताबाट मात्र फूल्न सुरु गर्ने कमल यस वर्ष भने जेठ अन्तिम साताबाटै फूल्न सुरु गरेको थियो । विगतका वर्षहरुमा कमलको जरा वर्षेनी निकालिदै आइएको थियो । यसपालीको सिजन अर्थात गएको फागुन चैतमा जरा निकाल्न प्रतिबन्ध गरेपछि भने यस वर्ष कमल छिटै पलाएको र फुलेको स्थानीयले बताएका छन् । दहमा हरियाली कमलको पात, कमलको फूल, त्यसैमाथी तालचरी, मालचरीको पौडी र चिरबिरले कमल दहको रौनकता नै फरक छ ।

त्यसैमाथी दह हेर्न आउने आन्तरिक पर्यटकको कारण यहाँको वातावरण अरुबेला भन्दा निकै फरक देख्न सकिन्छ । सामाजिक संजालमा कमलदहको फोटो र कमलको फूल देखेपछि आफु पनि दह हेर्न आएको बागलुङकी सुनिता कार्कीले बताउनुभयो । अरुबेला भन्दा पनि यहि समयमा दह हेर्न लायक हुने भन्ने सुनेको बताउदै बर्खाको यात्रा गर्दै रुकुमकोट पुगेको बताउनुभयो । फोटे र भिडियोमा भन्दा पनि प्रत्यक्ष देखेपछि दह, दहमा फूलेको फूल र यहाँको वातावरण उत्कृष्ट लागेको कार्कीले बताउनुभयो ।

हिजोआज कार्कीजस्तै दह हेर्न, फोटो खिच्न, टिकटक बनाउन, भिडियो खिच्न आउने मानिसहरु दैनिक दह आसपासमा भेट्न सकिने दह रेखदेख गरिरहनुभएका सिस्ने गाउँपालिका ५ का दण्डबहादुर शाहीले बताउनुभयो । उहाँकाअनुसार दह हेर्नको लागि रुकुम(पूर्व) को विभिन्न ठाउँसँगै रुकुम(पश्चिम), रोल्पा, सल्यान, जाजरकोट, बागलुङलगाएतका ठाउँबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् । दह मध्यपहाडी लोकमार्गको छेउमै भएको कारण मध्यपहाडी लोकमार्र्ग भएर यात्रा गर्ने जोकोही एकैछिन भएपनि गाडी रोकेर दह हेरेर र फोटो खिचेर मात्रा यात्रा अघि बढाउने गरेका छन् ।

अन्य दिनमा भन्दा शनिबार र अन्य विदाको दिनमा दहमा झन बढी मानिसहरुको भिड लाग्ने गरेको शाहीले बताउनुभयो । रुकुमकोटबासी र यहाँस्थित सबै कार्यालयका कर्मचारीहरु पनि दिनभरीको कामको थकान मेट्न एकैछिन भएपनि दह निस्कने गरेका छन् । दहको सेरोफेरो हेर्न आन्तरिक पर्यटकहरु बढेपछि अहिले होटेल व्यवसायीहरुलाई पनि राम्रो आम्दानी भइरहेको होटेल व्यवसायीले बताएका छन् ।