करार कर्मचारीको नियुक्ति नविकरण नगरेको रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा अहिले सेवा प्रभावित भएको छ । यस नयाँ अािर्थक वर्ष २०७९÷८० मा गाउँपालिकाले कुनै पनि करार कर्मचारीको नियुक्ति नविकरण गरेको छैन् । करार कर्मचारीको भरमा चलेको गाउँपालिकाको कामकाज अहिले करार कर्मचारी आउन छोडेदेखि नै सेवा प्रभावित भएको हो ।
करार कर्मचारीले काम छोडेसँगै अहिले विद्यालयमा पठनपाठनको कामदेखि लिएर स्वास्थ्य संस्थाको काम पनि ठप्प भएको पुथा उत्तरगंगा गाउँपालिका ५ का वडाध्यक्ष एवम् गाउँ कार्यपालिकाका प्रवक्ता टिकासई घर्तीले जानकारी दिनुभयो । उहाँकाअनुसार गाउँपालिकाभित्र रहेको ८ वटा आधारभूत स्वास्थ्य इकाई र २ वटा सामुदायिक स्वास्थ्य इकाइको सेवा ठप्प भएको छ । यी स्वास्थ्य इकाईमा साउनको १ गतेबाट कार्यालय सहयोगिले कार्यालय खाल्ने मात्र काम भएको छ । उपचारको कामकाज ठप्प हुदा नागरिकहरुले सास्ती खेपिरहेका छन् ।
यस्तै सबै वडाहरु कृषि र पशुका प्राविधिक बिहिन भएका छन् भने गाउँपालिकाको अवस्था पनि उस्तै छ । अहिले पालिकामा पनि कृषि र पशुमा एकएक जना स्थायी कर्मचारी रहेको प्रवक्ता घर्तीले बताउनुभयो । विद्यालयमा पनि पठनपाठन प्रभावित भएको छ । गाउँपालिकाको १ र २ नम्बर वडाका विद्यालयमा यार्सा सिजनका बिदा दिएको कारण मिनपचासको बिदा नदिएरै पठनपाठन सञ्चालन गरिएको थियो भने गाउँपालिका भित्रमा अन्य विद्यालय साउनको १० गतेबाट खुलिसकेका छन् । विद्यालय खुलेपनि विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको हो ।
गाउँपालिकाले भने यहि १६ देखि १९ गते सम्म करार कर्मचारी नियुक्तिको लागि परिक्षा गराउदै छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्यमा गरि एक सय २६ जना कर्मचारीको लागि खरखास्त आह्वान गरेको थियो । स्वास्थ्यका कर्मचारी यहि २० गतेभित्र नियुक्त गरिसक्नेगरी तयारी गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता घर्तीले बताउनुभयो । पहिलो चरणमा कृषि, शिक्षा, स्वास्थ्य र पशु क्षेत्रका कर्मचारीको लागि दरखास्त आह्वान गरेको गाउँपालिकाले दोस्रो चरणमा अन्य आवश्यक कर्मचारी व्यवस्थापन गर्ने पुथा उत्तरगंगा गाउँपालिकाले जानकारी दिएको छ ।