नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको केन्द्रिय अध्यक्षमा सुवोध सेर्पाली चयन हुनु भएको छ । काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले रुकुम पूर्वका सेर्पालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै महासचिवमा गणेश शाही चयन हुनु भएको छ । सेर्पालीको नेतृत्वमा ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष लगायतको पद सिर्जना गरिएको छ ।

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन पाटी अध्यक्ष प्रचण्डले गर्नुभएको थियो । त्यसपछि भएको बन्दसत्रबाट सर्वसम्मत रुपमा सेर्पाली अध्यक्षमा चयन हुनु भएको हो । यसअघि सेर्पाली वाईसीएलको सहसंयोजक र सुमन देवकोटा संयोजक हुनुहुन्थ्यो । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि सेर्पालीको काधमा नेतृत्व आएको हो ।

यसअघिको सम्मेलनमा  देवकोटा र सेर्पालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीले आलोपालो नेतृत्व गर्ने सहमतिमा देवकोटालाई संयोजक र सेर्पालीलाई सहसंयोजक बनाएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि सेर्पालीलाई नै अध्यक्ष बनाइएको हो ।


यस्तै वाईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका थियो । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा थिए । आन्तरिक छलफलपछि शाहीलाई महासचिव बनाइएको हो ।

रुकुम पूर्वबाट वाईसीएलको केन्द्रिय सदस्यमा मन बहादुर वि.सी सहित पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर र प्रवक्ता टिकासाई घर्ती मगर चयन हुनु भएको छ ।