रुकुम(पूर्व) मा कोभिड प्रतिकार्य वास (सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग) कार्यक्रमको प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ । युनिसेफको आर्थिक तथा रुक्मेली समाज विकास केन्द्र रुकुमको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सञ्चालन भएको परियोजनाले ६ महिनाको अवधिमा गरेको कामको समिक्षा गरिएको हो ।

जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको विभिन्न समुदाय र १० वटा विद्यालयमा परियोजनाले गरेको कामको आज एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रगती समिक्षा गरिएको हो । सुरक्षीत खानेपानी समुदाय निर्माण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस परियोजनामार्फत सुरक्षित खानेपानीयुक्त समुदाय र खानेपानी गुणस्तर अनुगमन कार्यविधि, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाको अभियान, विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता (तीन तारे पद्धति) लगाएतको क्षेत्रमा काम गरिएको वास फोकल पर्सन प्रेमबहादुर ओलीले जानकारी गराउनुभएको छ ।

उहाँकाअनुसार सिस्ने र भूमे गाउँपालिकाका ६ समुदाय रुमालबारा, ढकालबारा, आलाचिउरेनी, सुद्रि, भिङढाका, कात्नेखोला खानेपानीको काम गरिएको छ । भूमेमा ल्याब स्थापना गरेर नियमित रुपमा पानीको सुद्धिकरण जाँच गरिराखिएको छ भने सिस्ने गाउँपालिकामा पनि त्यसको प्रयास भइरहेको जानकारी समिक्षा कार्यक्रममा जानकारी गराइएको छ । यस्तै सिस्ने र भूमेको पाँच पाँच वटा गरी १० वटा विद्यालयमा पनि खानेपानी, सरसफाईको क्षेत्रमा विभिन्न काम गरिएको छ । छिप्रीदह, पोखरा, लम्पाकोट, पाखापानी, नायगाड, डालीबाङ, गाबाङ, महत र आधारभूत विद्यालय गलमछिनीमा काम गरिएको छ ।

यस परियोजनाले पालिका स्तरमा खानेपानी गुणस्तर अनुगमन संयन्त्रको स्थापना, सुचारुपन, खानेपानी प्रणालीको मर्मत सम्भारका लागि प्राविधिक सहयोग, पानीको गुणस्तर परिक्षण, अनुगमन सम्बन्धि तालिम, शुद्धिकरण प्रणाली स्थापनाको काम गरिएको छ । यस्तै विद्यालयहरुको जोखिम मापन (तीन तारे अवधारणा) मा रही विद्यालयहरुमा खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धि अभिमूखिकरण, विद्यालयको खानेपानी परिक्षण लगाएतका वास सम्बन्धि क्रियाकलापहरुमा बाल क्लबहरुको सहभागितामा काम गरिएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले यस परियोजनामार्फत खानेपानी र सरसफाइको क्षेत्रमा प्रभावकारी काम भएको बताउनुभएको छ । यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले यस परियोजनामार्फत गरिएको कामले सरकारको लक्षमा इट्टा थप्ने काम गरेको बताउनुभएको छ ।

गाउँपालिका अध्यक्ष रेग्मिको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, सिस्ने र भूमे गाउँपालिकाका कार्यपालिका सदस्य र वडाध्यक्ष, विषयगत शाखाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । रुक्मेली समाज विकाु केन्द्रका उपाध्यक्ष शोभाकर शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अनुगमण दस्तावेजिकरण अधिकृत नरेन्द्र ओलीले गर्नुभएको थियो ।