हाम्रो समाजमा बालबालिकाको कुरालाई सजिलै सबैले पत्याउदैनन् । बालबालिकाले राम्रै कुरा गरेपनि उनिहरुका कुरालाई सामान्य रुपमा हेर्ने चलन यो समाजमा छ । तर रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा बालबालिकाले नै नमुनायोग्य कामहरु गर्दै आएका छन् ।
वाल विवाह व्याप्त रहेको जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा पालिकास्तरीय बाल क्लब संजाल, किशोरी र आमा समुह संजाल तथा वडास्तरीय बाल क्लब, किशोरी समुह, आमा समुहहरुले वाल विवाह न्यूनिकरणको लागि विभिन्न अभियान चलाउदै आएका छन् । वाल विवाह न्यूनिकरणको लागि थालेको अभियानले समाजमा प्रभाव पनि देखिन थालेको छ ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० की शिरिमाया पुन अहिले १६ वर्षको हुनुभयो । अहिले उहाँ कक्षा १० मा पढ्नुहुन्छ । १६ वर्षको उमेरमै उहाँ बाल विवाह न्यूनिकरण अभियानमा सक्रिय भएर लाग्नुभएको छ । उहाँ वडास्तरीय गेमि मेलमिलाप किशोरी समुहको अध्यक्ष भएर वाल विवाह न्यूनिकरण अभियानको नेतृत्व गर्नुभएको छ । वडामा हुने वाल विवाह, बालबालिमा माथी हुने हिंसा र सबै प्रकारका घरेलु हिंसाको विरुद्धमा उहाँले आवाज उठाउनुहुन्छ । यहि आवाजले अहिले वडामा २० वर्ष नपुुगि विवाह गरिदिन अभिभावक पछाडी सरेका छन् भने उमेर नपुगि विवाह गर्दा प्रहरीकहाँ पुगिन्छ की भनेर स्वयम केटाकेटी पनि सचेत भएको पाइन्छ ।
पुथा १० कै संस्कृती पुन वडास्तरीय बाल क्लबको अध्यक्ष हुनुहुन्छ । उहाँको भूमिका पनि वाल विवाह न्यूनिकरणको अभियानमा शिरीमायाको भन्दा छुट्टै छैन् । गाउँमा कतै बाल विवाह हुन लागेको खबर पाउने बित्तिकै विवाह रोक्नको लागि विवाह भइरहेको घरमा पुग्ने, अभिभावकलाई सम्झाउने र नमानेमा स्थानीय सररकार र प्रहरीलाई खबर गर्न दौडधूप गर्नुहुन्छ । सबैसँगको समन्वय र सहयोगमा वाल विवाह रोक्न पनि सफल भएको उहाँ बताउहुनुन्छ ।
गाउँपालिकास्तरमा भएका बाल क्लब संजाल, किशोरी संजाल, आमा समुह संजाल र वडास्तरमा भएका बाल क्लब, किशोरी समुह, आमा समुहले गाउँपालिकाको विभिन्न क्षेत्रमा हुने वाल विवाह, बालबालिकामाथी हुने हिंसा, घरेलु हिंसाको विरुद्धमा काम गरिररहेका छन् । उनिहरुले मासिक बैठक बसेर कार्ययोजना निर्माण गर्ने, लेवि उठाएर आवश्यक सानातीना समस्या टार्नेदेखि लिएर वाल विवाह न्यूनिकरण सम्बन्धिको सचेतनामुलक सडक नाटक प्रदर्शन गर्ने कार्यक्रम गरिरहेका छन् ।
वाल विवाहको विरुद्धमा काम गर्न बाल बहस किताबले आफुहरुलाई झन सजिलो बनाएको किशोरीहरुले बताएका छन् । आफुहरुको यस अभियानले पछिल्लो समयमा समाजमा खुलेआम वाल विवाह गर्ने तथा गराउनेहरु सचेत भएको देख्दा आफुहरुलाई खुसी मिल्ने गरेको पुथा उत्तरगंगा गाउँपालिका १० की वडास्तरीय बाल क्लबको निवर्तमान अध्यक्ष सुरपी पुनले बताउनुभयो । अहिले क्बल, संजाल तथा समुहमा आवद्ध भइसकेपछि सबै बालबालिकाहरुले खुलेर आफ्नो कुराहरु राख्ने, समस्याहरु उत्थान गर्नेदेखि लिएर बालबालिकामा हुने हिंसा दुव्र्यवहारको विरुद्धमा पहल लिने र समाज तथा सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने गराउने कुरामा अब्बल हुदै गएको पुनले बताउनुभयो ।
बालबालिका माथी हुने हिंसाको विरुद्धको अभियान चलाउदै आएपनि यसमा थुप्रै चुनौतीहरु रहेको समुह तथा क्बल, संजालमा आबद्ध किशोर किशोरीहरुले बताएका छन् । समाजमा गुपचुप रुपमा वाल विवाह गर्ने गराउने, वाल विवाह रोकेको खण्डमा समाजले तगारोको रुपमा हेर्ने, वाल विवाह रोकेपनि पछि फेरी भागेर विवाह गर्नेलगाएतका समस्याहरुको सामना आफुहरुले गर्नुपर्ने किशोरीहरुले सुनाएका छन् । यसमा आफुहरुले स्थानीय सरकार, प्रहरी, प्रशासन र समाजका अगुवाइहरुको साथ सहयोगको आवश्यक रहेको बताएका छन् । अहिले बाल विवाह र बालबालिका माथी हुने हिंसाको विरुद्धमा किशोर किशोरीले चलाएको अभियानमा स्थानीय सरकार र प्रहरीले साथ दिइरहेको उनिहरुले बताएका छन् ।
किशोर किशोरीको अभियानमा स्थानीय सरकार र प्रहरी पनि साथ हुँदा समाजमा हुने बाल विवाह तथा बालबालिका माथी हुने हिंसा पहिलेको तुलनामा अहिले कम हुँदै गएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताउनुभएको छ । वाल विवाह व्याप्त रहेको यस गाउँपालिकामा पछिल्लो एक दुई वर्ष यता किशोर किशोरीहरु आफै सक्रिय हुँदा सकारात्मक परिवर्तन हुँदै गएको अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाको विभिन्न क्षेत्रमा बाल विवाह र बालबालिकामा माथी हुने जुनसुकै खालको हिंसा दुव्र्यवहारको किशोर किशोरीले प्रतिकार गर्ने गरेको र त्यसमा समस्या आएको खण्डमा गाउँपालिकाको न्यायिक समिति र प्रहरीकहाँ पुग्ने गरेको उहाँको भनाई छ । यस अभियानमा गाउँपालिका सधै ििकशोर किशोरीको साथमा रहेको पनि उहाँले बताउनुभयो ।
पुथा उत्तरगंगा गाउँपालिकाको ७ वटा वडामा यूनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टरले सक्षम परियोजनामार्फत बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोे छ । यसै परियोजनामार्फत स्थानीय सरकारसँगको समन्वयमा पालिकास्तरी र वडास्तरीय बाल क्लब, किशोरी समुह तथा आमा समुह संजाल निर्माण गरेको छ भने वडास्तरमा बालल क्लब, किशोरी समुह र आमा समुह निर्माण गरिएको छ । यीनै संजाल, समुह र क्लबलाई सक्रिय गराउदै बालबालिकाको क्षेत्रमा काम गरिरहेको र त्यसबाट सकारात्मक परिवर्तनहरु पनि हुँदै गएको सक्षम परियोजनाका व्यवस्थापन हेमन्त राईले बताउनुभएको छ ।